Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

देउसी भैलोबाट संकलित रकम सामाजिक काममा खर्च गरिने

देउसी भैलोबाट संकलित रकम सामाजिक काममा खर्च गरिने

  • 355
    SHARES
  • देउसी भैलोबाट संकलित रकम सामाजिक काममा खर्च गरिने

    कैलाली । तिहारमा खेलिने देउसी भैलोबाट संकलित रकम सामाजिक काममा लगाउन सके राम्रो हुने नागरिकको सुझाव छ । कैलालीको टीकापुरमा मन्दिर निर्माणका लागि देउसी भैलो खेल्न थालिएको छ ।

    टीकापुरमा निर्माणाधीन अवस्थामा रहेको बैंकटेश्वर लक्ष्मी नारायण मन्दिर निर्माणका लागि १५ जनाले टोली बनाएर देउसी भैलो खेल्न थालेका हुन् ।

    ‘हामी आफैँ मिलेर मन्दिर निर्माण गरिरहेका छौं । मन्दिर निर्माणमा सहयोग हुनुका साथै पर्व र संस्कृतिको समेत जगेर्ना हुन्छ’, मन्दिर निर्माण समितिका सचिव रत्नप्रसाद पोख्रेलले भने, ‘देउसी भैलोमा बच्चादेखि वृद्धसम्म सहभागी छौं । उठेको सबै रकम मन्दिर निर्माणमा खर्च गर्छौं ।’

    टीकापुरका नरेश जैसीको समूहले पनि देउसी भैलो खेलिरहेको छ । उनीहरू पनि टोलमा प्रतीक्षालय बनाउनका लागि भैलो खेल्न थालेको बताउँछन् ।

    ‘टोलमा बर पिपलका रुख छन्, गर्मीमा शीतल हुन्छ, टोलमा सल्लाह गर्‍यौं’, नरेशले भने, ‘सबैले देउसी भैलो खेलौं, उठेको रकमले बनाउला भन्यौं, टोलमै खेलिरहेका छौं, प्रतीक्षालय बनाउने भनेपछि छिमेकीले पनि दिल खोलेर दान गरिरहेका छन् ।’

    खप्तड सांस्कृतिक परिवारका पूर्वअध्यक्ष नवराज रिमाल समाजले हरेक वर्ष देउसी भैलो खेल्ने गरेको बताए ।

    ‘हामी हरेक वर्ष खेल्छौं, यसरी खेलेर संकलन भएको रकम संस्थाको विकास र सांस्कृतिक विकासमा खर्च गर्ने गरेका छौं’, उनले भने, ‘हामी वनभोज खानका लागि कहिल्यै खेल्दैनौं, सधैं रकमको सदुपयोग गर्छौं ।’

    रिमाल पर्वले पनि समाजमा सभ्यता र संस्कृति सिकाउनुका साथै विकास भित्र्याउनुपर्नेमा जोड दिए । समूह बनाएर खेलिने देउसी भैलोबाट संकलित रकम कतिपय समूहले सामाजिक कार्यमा लगाउँछन् भने कतिपयले खानपान गर्ने, कतिपयले रकम बाँडफाँट गर्ने चलन छ ।

    जानकी गाउँपालिकाका बिर्ख कुँवरको समूहले देउसीभैलो खेलेर समूहका लागि आवश्यक भाँडाकुँडा खरिद गरेको छ ।

    ‘विगत दुई वर्ष खेल्यौं, त्यसबाट उठेको रकमले समूहका लागि आवश्यक भाडाकुँडा किन्यौं, ती भाँडाकुँडा समूहका सदस्यका घरमा भोजभतेर हुँदा न्यूनतम भाडामा दिन्छौं’, उनले भने, ‘भाडामा दिँदा समूहलाई आम्दानी हुन्छ । आम्दानी समूहका सबै सदस्यलाई भाग पर्छ ।’

    देउसी भैलो खेल्दा विगतमा मादल बजाउँदै, नाचगान गर्दै सामाजिक परिवेशअनुसारका कुरा गर्दै गाउने र खेल्ने गरिन्थ्यो । पछिल्लो समय बाजागाजा बजाएर, युटुबमा भएका गीत बजाए नाच्ने गरिन्छ ।

    सनातन संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना तिहार धार्मिक, सांस्कृतिक र सामाजिक पुनर्मिलन गराउने पर्वको भएकाले यसको विशिष्ट महत्व रहेको बताए ।

    ‘काग तिहार, लक्ष्मीपूजा, गाई तिहार, गोवर्धन पूजा हुँदै भाइटीका गरी मनाइने यस पर्वले नेपालको सांस्कृतिक पक्ष र धार्मिक अन्तरसम्बन्धलाई थप मजबुत बनाउँछ’, उनले भने, ‘तिहारलाई सामाजिक कोणबाट दिदीबहिनी र दाजुभाइबीच सद्भाव र पारस्पारिक मिलनकोरूपमा लिइन्छ । तिहारमा सबै जम्मा हुने र देउसी भैलो खेल्ने परम्परा छ । यसले सामाजिक र सांस्कृतिक पाटो बलियो बनाउँछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij