वेबटिभी खबर
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच भेटवार्ता हुने भएकाे छ । दुई देशबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच साेमबार भेटवार्ता हुन लागेको हो । मंगलबारदेखि सुरु हुने जी-२० बैठकका लागि दुबै नेताहरू इन्डोनेसियामा छन् ।
सन् २०२० मा बाइडेनले अमेरिकाकाे राष्ट्रपतिमा पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हुन लागेकाे हाे ।
गत महिना कम्युनिष्ट पार्टीको महाअधिवेशनपछि सी जिनपिङले आफ्नो शक्तिलाई थप सुदृढ पारेका थिए । सी माओ त्सेतुङपछिको सबैभन्दा बलियो चिनियाँ नेताको रूपमा बाइडेनसँग भेट गर्ने छन् ।
के विषयमा हुँदै छ छलफल ?
कीर्तिमानी क्षेप्यास्त्र परीक्षणसँगै छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भेटवार्ता हुँदै छ । जी-२० शिखर सम्मेलनको साइडलाइन वार्तामा बाइडेनले प्योङयाङको सबैभन्दा ठूलो सहयोगी चीनका राष्ट्रपतिलाई उत्तर कोरियाको खराब गतिविधि रोक्न अनुरोध गर्ने अनुमान गरिएको छ ।
वार्तामा ‘उत्तर कोरियाको सबैभन्दा खराब प्रवृत्तिलाई रोक्न रचनात्मक भूमिकाबारे छलफल हुने’ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।
बाइडेनले सी जीनपिङलाई उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक निर्माणलाई ‘निरन्तरता दिएमा यो कोरियाली प्रायद्वीपमा थप अमेरिकी सेना र सुरक्षा उपस्थिति बढाइने’ संकेत गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij