Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बस दुर्घटनामा गर्भवतीसहित छ जना गम्भीर घाइते

बस दुर्घटनामा गर्भवतीसहित छ जना गम्भीर घाइते

  • 268
    SHARES
  • बस दुर्घटनामा गर्भवतीसहित छ जना गम्भीर घाइते

    उदयपुर । उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन् ।

    बुइँपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्यचौकी भन्दा मुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीकी रेनुका भुजेलसहित छ यात्रु घाइते भएका हुन् ।

    बत्तीस यात्रु सवार बस दुर्घटनामा भुजेलसहित घाइते हुनेमा बुइँपा खिरीका २९ वर्षीय वीरेन्द्र घिमिरे, बुइँपाकै कट्टी निवासी २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेँसी गाउँपालिका-२ खार्पाका २० वर्षीय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी-१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की र सोही स्थानकी २७ वर्षीया सुस्मिता ढुंगाना रहेका छन् ।

    घाइतेमध्ये वीरेन्द्रको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् । बसमा च्यापिएको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका वीरेन्द्रको बायाँ तिघ्राभन्दा माथिल्लो भागमा गहिरो चोट लागेको जनाइएको छ ।

    गम्भीर अवस्थाका वीरेन्द्र, रेनुका र दिलकुमारीलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

    सामान्य अवस्था रहेका अन्य घाइतेको स्वास्थ्यचौकी बुइँपामा प्राथमिक उपचार भइरहेको दिक्तेल रुपाकोट मझुवागढी-१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले बताए । दुर्घटना लगत्तै बसका चालक र सहचालक फरार भएका सोही बसका यात्रुले बताएका छन् ।

    सहचालकले बस चलाउँदा दुर्घटना भएको यात्रुले बताएका छन् । सहचालकले सडकमा बागोटिगो गर्दै बस हिँडाएपछि यात्रुले गाली गरेको केही समयपछि नै दुर्घटना भएको सोही बसमा सवार यात्रु युवराज खनालले जानकारी दिए ।

    सडकबाट डिलमुनि खसेको बस रुखमा अल्झिएका कारण थप क्षति हुन नपाएको यात्रुहरूले बताएका छन् । दुर्घटना गराएर फरार भएका चालक र सहचालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएका छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij