वेबटिभी खबर
मस्को । रुसमा घरपालुवाना जनावारलाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यसअघि मार्चमा रुसले कोरोना भाइरसविरुद्ध जनावारलाई दिने विश्वको पहिलो खोप दर्ता गरेको घोषणा गरेको थियो ।
रुसको पशुस्वास्थ्य सेवाको निगरानी गर्ने निकाय रोसलखोज्ननादजोरले देशका विभिन्न क्षेत्रमा रहेका भेटरिनरी क्लिनिकहरूबाट जनावारलाई खोप दिन सुरु गरिएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यामले जनाएका छन् ।
यस निकायका अनुसार कार्निभ्याक कोभ खोपप्रति युरोपेली युनियन, अर्जेन्टिना, दक्षिण कोरिया र जापानले चासो देखाएका छन् ।
वैज्ञानिकहरुले जनावारले मानिसमा रोग सार्नका लागि महत्वपूर्ण भूमिका खेल्ने कुनै प्रमाण नभएको बताएका छन् तर संसारभरिका विभिन्न प्रजातिहरुमा भाइरस संक्रमण पुष्टि भइसकेको छ । जसमा कुकुर, बिराला, चिम्पान्जी, मिंक, सिंह आदि जनावार छन् ।
जनावारलाई दिइने कार्निभ्याक कोभले छ महिनासम्म प्रतिरक्षा प्रणाली मजबुत राख्ने बताइएको छ । आरसिया समाचार एजेन्सीका अनुसार रोसलखोज्ननादजोरका प्रमुखका सल्लाहकार जूलिया मेलानोका अनुसार क्लिनिकहरूमा घरमा जनावार पाल्नेहरु, प्रजनन गराउने मानिसहरू तथा बाटोमा स्वतन्त्र हिँडडुल गर्ने जनावारका व्यक्तिहरुले खोपको माग बढी गरेका छन् ।
अमेरिकाको भेटरिनरी औषधि उत्पादक कम्पनी जोइटिसले पनि जनावारलाई दिन सकिने अर्को खोप विकास गरिरहेको छ ।
मिंक भनिने एक किसिमको अर्धजलचर जनावारमा कोरोना संक्रमण गम्भीर रूपमा देखा परेको थियो । डेनमार्क लगायतका देशमा घरमा पालिएका मिंकहरुमा संक्रमण भएर मृत्यु भएको समेत बताएका छन् । जनावारमा महामारी फैलिएपछि यी जनावार पाल्ने फार्महरु पनि बन्द गरिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij