Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

केरा खेतीबाट वार्षिक ९० लाख कारोबार

केरा खेतीबाट वार्षिक ९० लाख कारोबार

  • 378
    SHARES
  • केरा खेतीबाट वार्षिक ९० लाख कारोबार

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहेका छन् । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक ९० लाख बराबरको कारोबार रहेको छ ।

    आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन/चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहेका साउदले केराबाट वार्षिक  पाँचदेखि सात लाख बचत गरिरहेको बताए । उनले भने, ‘सबै खर्च कटाएर पाँच/सात लाख बचत हुन्छ । कमाईको रकमले छोराछोरी पढाउनेदेखि सम्पत्ति जोड्ने काम भयो ।’

    उनले तिल्केनी क्षेत्रका करिब डेढ सय किसान केरा खेतीमा संलग्न रहेको बताए । प्रतिबिघा ५० हजार भाडा तिर्दै आएका साउदले केरा खेतीबाटै जीविका चलेको बताए । पछिल्लो समय कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान घर निर्माण भइसकेको छ ।

    सहकारीका अध्यक्षसमेत रहेका साउदले भने, ‘कृषिबाट ४९ लाख र बाँकी सहकारीबाट लगानी गरेर चिस्यान घर निर्माण गरेका छौँ । केरा खेतीबाट धेरै स्थानीयवासीलाई ज्याला मजदुरीको काम मिलेको छ ।’

    विसं २०५४ देखि केरा खेती गरिरहनुभएका साउदले सहकारीमार्फत भीमदत्त नगरपालिका-९, १० र ३ मा केराखेती र बाख्रापालन लगायतका आयमूलक व्यवसाय सञ्चालन गरिरहेको बताए ।

    उनले भने, ‘भारतीय केरा आयात हुँदा स्थानीय उत्पादन खपतमा समस्या भयोस्थानीय उत्पादनलाई बजारको समस्या हल गर्न सरोकारवाला निकायले पनि पहल गरिदिनुपर्छ ।’ उनले केरा व्यवसायमा नौ जनालाई रोजगारीसमेत दिएको बताए । दुई वर्षअघि मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमअन्तर्गत पनि किसानलाई धेरै सहुलियत मिलेको बताए ।

    उनले भने, ‘मुख्यमन्त्री नमुना कृषि कार्यक्रमले यहाँ थोपा सिँचाइ, ढुवानीका लागि सवारी साधन खरिद, केराका बिरुवा तथा सिँचाइ कार्यक्रममा सहयोग भयो । यहाँ छुट्टै समिति बनाएर यो कार्यक्रम यहाँका चार वडामा लागू भएको थियो ।’

    उनले उत्पादित केरा सुदूरपश्चिमका नौवटै जिल्लाका साथै अन्य क्षेत्रमा समेत व्यापारीमार्फत निर्यात हुने गरेको जानकारी दिए । त्यसैगरी कृष्णपुर नगरपालिका-५ का अर्जुन जेठाराले ११ बिघा जमिनमा केराखेती गरिरहेका छन् ।

    विसं २०६४ देखि केराखेतीमा सक्रिय जेठाराले केराबाट वार्षिक १० लाख मुनाफा हुने गरेको बताए । उनले भने, ‘दुई वर्षयता सुदूरपश्चिममा केराको उत्पादन धेरै हुँदा बजारको समस्या हुने अवस्था छ । यहाँ उत्पादित केरा खपतका लागि बजार सानो भयो ।’

    कृष्णपुरमा ३० बिघा जमिनमा विगतमा केरा खेती गरेका जेठाराले जमिन राम्रो नपर्दा घटाएको बताए । उनले भने, ‘केराखेती फेरि बढाउने योजनाअनुसार जमिन भाडामा खोजिरहेको छु । अहिले १० बिघाप्रति बिघा ५५ हजारका दरले भाडामा लिएर खेती गरेको छु ।’

    कृषि ज्ञान केन्द्रबाट केरा खेतीका बेला बीउबिजनलगायत सामान्य अनुदान पाएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij