वेबटिभी खबर
काठमाडौं । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमार्फत अपराध गर्ने गिरोह सक्रिय भएको जानकारी गराउँदै नेपाल प्रहरीले यसतर्फ सचेत हुन सर्वसाधारणमा आग्रह गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार विज्ञप्ति जारी गर्दै फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमोजस्ता विद्युतीय सामग्रीको गलत प्रयोग गर्दै अपराधजन्य गतिविधि गर्ने व्यक्तिहरु सक्रिय रहेकाले यसतर्फ सचेत हुन सर्वसाधारणलाई अपिल गरेको हो ।
‘विगत कही समयदेखि व्यक्ति÷आपराधिक समूहहरुले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदि भिडियो कल गरी अपरिचित व्यक्ति आफैंले अश्लिल क्रियाकलापमा संलग्न हुने वातावरण बनाई, अनैतिक/अश्लिल क्रियाकलापमा संलग्न गराएपश्चात उक्त भिडियोकलको रेकर्ड गरी तत्पश्चात साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गरिदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु बढ्दै गएको छ,’ ब्युरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यसैले सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो क्रियाकलापप्रति सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको शिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियोकल, भ्वाइसकल नगर्नुहुन सम्बन्धित सबैको जानकारी तथा जनचेतनाको लागि सूचित गरिन्छ ।’

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij