वेबटिभी खबर
सर्लाही । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको संख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।
ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो ।
दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुई वटा उपकरणबाट एकैपटक छ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए । उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज सुरु गर्ने उनको भनाइ छ ।
समयानुसार एपमार्फत ग्राहकले सञ्चित गरेको रकमबाट सिधैँ प्राधिकरणको खातामा पैसा जम्मा हुने प्रविधि मिलाइएको केन्द्रका प्रमुख रामले जानकारी दिए ।
विद्युत् प्राधिकरण लालबन्दीका सूचना अधिकारी विशाल श्रेष्ठले भने, ‘साँझ ५ देखि ११ बजेसम्मको पिकआवरमा प्रतियुनिट रू १० दशमलव ५० र राति ११ बजेदेखि बिहान ५ बजेसम्म रू छ दशमलव ६० महसुल निर्धारण गरेको छ । बिहान ५ देखि बेलुकी ५ बजेसम्मको समयमा सवारीसाधन चार्ज गर्दा प्रतियुनिट रू आठ दशमलव ५० विद्युत् महसुल निर्धारण गरिएको छ ।’
चार्जिङ स्टेशन स्थापनापछि विद्युतीय सवारीसाधन सञ्चालन गर्न सजिलो र सस्तो भएको चालक मोहन थापाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij