वेबटिभी खबर
काठमाडौं । देशका विभिन्न स्थानबाट लागु औषधसहित नौजना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका-१ हवल्दार चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई, सोही नगरपालिका-९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् ।
चोकमा लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागु औषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले उक्त पदार्थ निशान नेपालीबाट खरिद गरि ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निशानलाई समेत प्रहरीले पक्राउ गरेको हो । धादिङको गजुरी नगरपालिका-६ आदमघाटबाट अवैध लागुऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूपन्देही ओमसतिया गाउँपालिका-४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रूहणी गाउँपालिका-१ बस्ने २३ वर्षीय ईरफान खान रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागु औषधसहित फेला पारी पक्राउ गरेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३६० मिलीग्रामसहित उर्लाबारी नगरपालिका-२ बस्ने २९ वर्षीय मिलन ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे ८ प ९५०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागु औषधसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरको, हेटौडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागुऔषध गाँजा करिब ४ केजीसहित सोही उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना २८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागु औषधसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका-८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतोलाई अवैध लागुऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरमा लुकाई छिपाई गाँजा बिक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो सिरहा, ईलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसहाबाट संयुक्त रुपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij