वेबटिभी खबर
बाँके । गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् ।
त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो । अहिले सुक्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको छ ।
२०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो । यसका चारवटा शाखा नहर छन भने परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनःस्थापना हुनेछ ।
अहिले पूर्णक्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पूर्वी नहरको लम्बाइ ४३.५ किलोमिटर रहेकोमा अहिले ३९ किलोमिटरसम्म पानी सञ्चालन गरिएको छ ।
नरैनापुरको गंगापुर, मटैहिया र वडा नं १, २, ३ र ४ मा अर्को चरणमा काम सुरुआत हुने आयोजनाका आयोजना निर्देशक रमेशकुमार सिंहले बताए । आयोजना निर्देशक सिंहका अनुसार सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ ।
‘नयाँ निर्माण गरिएका चारवटा शाखा नहरबाट करिब एक हजार चार सय हेक्टरमा वर्षभरि नै सिँचाइ सुविधा पुग्ने सुनिश्चित छ’, निर्देशक सिंहले भने, ‘बाँकी मूल नहरसहित शाखा नहरको सर्भेक्षण र डिजाइनको चरणमा रहेकाले आवश्यक वातावरणीय अध्ययनपश्चात ठेक्का अगाडि बढाइन्छ ।’
गत असार २८ गते सात घनमिटर प्रतिसेकेन्ड पानी परीक्षणका लागि छाडिएको थियो । परीक्षण सफल भएपछि पूरै क्षमताको पानी छाडिएको आयोजनाले जनाएको छ । पूर्वी नहरको संरचनामा ३७ किलोमिटर नहर निर्माण भएको छ । केही राजकुलो पर्ने भएकाले ३९ किलोमिटरसम्म पानी छाडिएको छ ।
सिँचाइ कुलोमा पानी छाडेपछि खेतमा सिँचाइ हुनेछ भने गत वर्षजस्तो यस वर्ष खेत बाँझो राख्नुपर्ने अवस्था नहुनेमा विश्वास लिइएको छ । पूर्वी नहरबाट पानी सञ्चालन भएपछि सुक्खा क्षेत्रलाई केही राहत पुग्ने स्थानीयवासीको अपेक्षा छ ।
सिँचाइ कुलो पुगेपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन । सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता अब हटेको यहाँका किसानको भनाइ छ । सो क्षेत्रका किसानले आकाशे पानीको भर परेर खेती गर्नुपर्ने अवस्था थियो ।
पूर्वी नहरमा पानी छाडिएपछि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय किसान शिवशरण थारूले बताए । पूर्वी नहर निर्माणका लागि कालिकाकुमार जेभीसँग रु तीन अर्ब छ करोड ९८ लाख ५९ हजार दुई सय ५९ मा ठेक्का सम्झौता भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij