Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

६ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी निर्माण अधुरै

६ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी निर्माण अधुरै

  • 189
    SHARES
  • ६ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी निर्माण अधुरै

    खोटाङ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन ६ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

    images

    निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ । विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस-नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो ।

    यसबीचमा निर्माणका लागि ६ पटक म्याद थपिएको छ । दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो ।

    भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र  २०७९ पुसमा म्याद थपिएको वडाअध्यक्ष जीवन न्यौपानेले जानकारी दिए ।

    उनले भने, ‘पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुंगो लागेको छैन ।’ हालसम्मको काम पनि गुणस्तरीय नभएको ‘उनको आरोप छ ।

    उनले भने, ‘भवनको भित्री भागको धेरै काम बाँकी नै छ । झ्यालको सिसा, भित्री भागको रङरोगन, शौचालय तथा स्नानगृहमा धारा, टायल बिछ्याउनेलगायत काम बाँकी छ ।’

    निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्यचौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ । गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ ।

    निर्माण कम्पनीको लापरबाहीले निर्माणाधीन स्वास्थ्यचौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ ।

    स्वास्थ्यचौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालित छ ।

    ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ ।

    ठेकेदारबीचको किचलोका कारण निर्माण कम्पनीले कामदारको पैसासमेत नदिएकाले निर्माण ठप्प बनेको हो ।

    ठेकेदार कम्पनीले तोकिएको समयमा भवनको काम सम्पन्न नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका प्रमुख डा.युवराज पौडेलले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology