काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच तीन बुँदे सहमति भएको छ । बिहीबार बिहान भएको पछिल्लो वार्तापछि दुई वार्ता टोलीले समहमति पत्रमा हस्ताक्षर गरेका हुन् । वार्ता टाेलीले बुधबार एकैदिन दुई चरणमा वार्ता गरेकाे थियाे ।
दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयमा सहमति भएको हो । प्रतिवन्धित पार्टी र सरकारबीच भएकाे याे वार्ता अत्यन्त छिटाे सहमतीमा पुग्नुलाई सकारात्मक मानिएकाे छ ।

सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।
प्रेस नोटमा भोलि (शुक्रबार) दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने छन् ।

तस्बिरः वार्ता टाेली सदस्य राजन भट्टराईकाे ट्विटरबाट
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij