वेबटिभी खबर
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेताले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्य छाएको बताएका छन् ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले आज आयोजना गरेको कार्यक्रममा उनले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ता केन्द्रित हुँदा जनतामा निराशा छाएको बताएका हुन् ।
सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको भन्दै नेता कोइरालाले नेपालका सबै पार्टीका नेताले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको बताए ।
राजनीति पेसा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए ।
उनले भने, ‘राजनीतिलाई सेवाका रूपमा लिनुपर्छ । पैसा कमाउने हो भने त अन्य पेसा व्यवसाय गर्दा भइगयो नि । पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र बेथिति बढ्दै गएको छ । पछिल्लो समय पनि भ्रष्टाचारका विभिन्न प्रकरण आएका छन् ।’
स्व.न्यौपाने कहिल्यै पनि पद र पैसाको पछि नलागेको र आफूले पटकपटक भेट्दा पनि न्यौपानेले पदको कुरा नगरेको नेता कोइरालाले स्मरण गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij