रासस
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुर आर्थिक मन्दीको मारबाट गुज्रिरहेको छ । मन्दीका कारण यहाँको व्यापार व्यावसायमा नकारात्मक असर परेको छ ।
विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका पवन ठाकुरको न्यू महालक्ष्मी ज्वेलर्समा कुनै बेला ग्राहकको भीड थामी नसक्नु हुन्थ्यो । दैनिक १०/१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले भने ग्राहक पाउनै मुस्किल भएको ठाकुरले बताए । डेढ–दुई लाखको व्यापार गर्न पनि ‘विशेष समय कहिले आउला’ भनेर पर्खिनुपर्ने अवस्था आएको उनी बताउँछन् ।
जनकपुरमा ४५ वर्षदेखि कपडा व्यापार गर्दै आएका रामबाबु गुप्ताले पहिले पाँच–सात जनालाई रोजगारी दिन्थे । केही वर्षयता भने व्यापार खस्किँदो अवस्थामा रहेकाले आधा कर्मचारी कटौती गरिसकेका छन् । पहिलेको जस्तो व्यापार नहुने, सजिलै ऋण नपाइनेलगायत कारणले व्यापारीहरु मर्कामा परेको उनको भनाइ छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रामपरी स्टोरका सञ्चालक शेखर साहको पनि यस्तै गुनासो छ । विगत १८ वर्षदेखि खाद्यान्न व्यापार गर्दै आएका उनले दैनिक उपभोग्य वस्तुको व्यापारमा समस्या होला भनेर सोचेका सम्म थिएनन् । अहिले व्यापारमा ७५ प्रतिशतले कमि आएको साहको भनाइ छ । ‘पहिले सामान लिन पालो पर्खिनुपर्थ्यो तर अहिले ग्राहक नै आउँदैनन्,’ उनले भने, ‘पछिल्लो समय २५ प्रतिशतमा व्यापार झरेको छ । खै केको मन्दी भएर हो वा अरूको व्यापार बढेर हो ? बुझ्नै सकिरहेको छैन ।’
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरका अधिकांस व्यापारी अहिले समस्यामा परेको बताउँछन् । विलासिताका वस्तुको व्यापार गर्नेहरु मात्र नभई दैनिक उपभोग्य सामान बेच्ने पनि समस्यामा पर्नु गम्भीर चिन्ताको विषय भएको उनलेब ताए ।
महासेठका अनुसार जनकपुर बजार क्षेत्रमा व्यापार व्यवसाय निरन्तर ओरालो लागेपछि हालसम्म एक सयभन्दा बढी व्यापारीले सटर बन्द गरिसकेका छन् । सटर बन्द गर्ने क्रम निरन्तर बढ्दो छ । आधा दर्जनभन्दा बढी ठूला व्यापारी बैंक तथा साहुको ब्याज तिर्न नसकेर जायजेथा छाडेर भागिसकेका उनले जानकारी दिए ।
‘जनकपुरधाममा कुनै बेला व्यापार गर्नका लागि सटर नै पाउँदैनथे । अहिले मुख्य बजारमै एक सयभन्दा बढी सटर बन्द अवस्थामा छन् । सटर खोल्नेहरुको व्यापार पनि निराशाजनक छ,’ महासेठले भने , ‘यसको कारण र परिणामका विषयमा न राज्यका निकाय न त राजनीतिक नेतृत्व गम्भीर छन् । अर्थतन्त्र झन्झन् जटिल अवस्थातर्फ धकेलिँदैछ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij