Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

‘नेपालको वर्तमान ठूलो शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग’

‘नेपालको वर्तमान ठूलो शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग’

  • 141
    SHARES
  • ‘नेपालको वर्तमान ठूलो शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग’

    खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग भएको बताएका छन् ।

    प्रेस सेन्टर नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपालमा देखिएका यी सबै समस्या समाधानका लागि वर्तमान सरकार प्रयत्नरत रहेको बताए ।

    मन्त्री किरातीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भ्रष्टाचार अन्त्य गर्नमा सरकार लागिपरेको जानकारी दिएका छन् ।

    ‘देशमा सुशासन कायम नभएसम्म शत्रुको रुपमा देखा परेको गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न सकिँदैन’, उनले भने, ‘देशमा अहिले साझा समस्याका रुपमा देखिएका गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न राष्ट्रिय सरकार आवश्यक छ । वर्तमान गठबन्धनलाई अझ बलियो बनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । अनिमात्र समृद्ध नेपाल निर्माण गर्न सक्छौँ ।’

    मन्त्री किरातीले वर्तमान सत्ता साझेदार गठबन्धन दलभित्र देखिएका केही समस्याका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

    गठबन्धन निर्माण गर्दा जनतालाई देखाइएको सपना पूरा गर्नका लागि पनि वर्तमान गठबन्धन सरकारलाई कायम राख्नुपर्ने उनले बताए ।

    देशमा सुशासन कायम गर्न र आर्थिक समृद्धि निर्माणको बाटो प्रारम्भ गर्नका लागि स्थायी सरकार आवश्यक रहेको मन्त्री किरातीले दाबी गरे ।

    नेपालको संविधानले अंगिकार गरेअनुसार सबै राजनीतिक दल मिलेर वर्तमान सरकारलाई स्थायित्व दिनुपर्ने उनको भनाइ छ । मन्त्री किरातीले नेपालका हरेक घुम्ती तथा डाँडापाखा पर्यटनको सम्भावना बोकेको ठाउँ रहेको बताएका छन् ।

    ‘नेपालका हरेक जातजातिको छुट्टाछुट्टै विशेषता, छुट्टाछुट्टै भेषभूषा तथा संस्कार, संस्कृति छन् । यसलाई प्रवर्द्धन गर्न वर्तमान सरकार लागि परेको छ । मन्त्रालयले तयार पारेको १६औँ पञ्चवर्षीय योजनामा रैथाने शब्द समावेश गरिएको छ’, उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि हामीले अन्य देशको सिको गर्न आवश्यक छैन । रैथाने रहनसहनलाई प्रवर्द्धन गर्न सके यसैमा हाम्रो भविष्य छ । यसप्रति वर्तमान सरकारले गम्भीर भएर मिहिनरुपमा अध्ययन÷अनुसन्धानसहित नीति निर्माण गरिरहेको छ ।’

    मन्त्री किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसी, किराँत समुदायको उद्गमस्थल तुवाचुङ-जयाजुम, बराहपोखरी, जन्तेढुङ्गा, मझुवागढीलगायतका धार्मिक तथा ऐतिहासिकस्थलको पर्यटन प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन गरिएको जानकारी दिए ।

    मन्त्री किरातीले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि मन्त्रालयबाट विनियोजित बजेटलाई सही तरिकाले कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए ।

    प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनपछि मन्त्री किरातीले दिक्तेलस्थित दिलकाजी-ठूलकुमार स्मृति भवनमा पार्टी कार्यकर्तासँग भेटघाटसमेत गरेका छन् ।

    कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री किरातीसँगै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोग अध्यक्ष एवं पूर्वसांसद टंक राईसमेत सहभागी थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij