मुकेश झा
सर्लाही । चर्को गर्मीले अस्तव्यस्त बनेको सर्लाहीमा गत पाँच दिनदेखि दैनिक सात घण्टा घोषित लोडसेडिङ भइरहेको छ । पुरानो तार हटाएर नयाँ जडान गर्नका लागि दैनिक बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने सूचना नेपाल विद्युत् प्राधिकरणले पहिले नै सार्वजनिक गरिसकेको थियो । बत्ती जाने समय निश्चित भए पनि आउने भने टुंगो नहुँदा ग्राहकले लोडसेडिङको मार बढी नै खेप्नु परेको छ ।
अहिले मधेसमा गर्मीको रापताप बढेको छ । यस्तो बेलामा पंखाको सहाराले चित्त बुझाउने ठाउँ थियो । तर गर्मी चर्केकै बेला घण्टौँ लामो लोडसेडिङले प्राधिकरणका ग्राहकले निकै सास्ती ब्यहोर्नु परेको छ ।
तोकिएको सात घण्टे लोडसेडिङ भन्दा बढी अवधिसम्म लाइन जाने गरेको स्थानीयले गुनासो गरेका छन । लाइन काट्ने बेलामा बिहान ठिक ७ बजेमा एक सेकेन्ड तल माथि हुँदैन । तर लाइन आउने पर्ने बेला दिउँसो २ बजे भने कहिल्यै पनि लाइन आउँदैन । तोकिएको भन्दा ५–६ घण्टा ढिलोगरी लाइन आउने गरेको गुनासो ग्राहले गरेका छन् ।
अहिले नवलपुर–मलंगवा ३३ केभी लाइनको पुरानो तार हटाइ नयाँ तार जडान कार्य भइरहेको छ । प्राधिकरणले वैशाख ८ गतेदेखि २२ गतेसम्म दैनिक बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती काट्ने उल्लेख गरेको छ । यो सूचनामा लाइने जाने समय मात्र ठिक रहेको भन्दै स्थानीयले व्यंग्य गरेका छन् ।
बत्ती नहुँदा मोबाइलमा नेटवर्कको समेत समस्या हुने गरेको छ । नेपाल टेलिकम र एनसेलको टावरमा बिजुलीको सप्लाइ बन्द हुँदा नेटवर्क नै अवरुद्ध हुन्छ । गर्मीसँगै सुख्खा मौसमका कारण चापाकलको पानी पनि सुक्न थालेका छन् । सुक्खाका कारण मोटरले तान्दा मात्र पानी आउने गरेकोमा बत्ती नहुँदा खानेपानीको समेत समस्या थपिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij