वेबटिभी खबर
काठमाडाैं । विश्वको एक ठूलो औषधि कम्पनी फाइजरले अमेरिका कोरोना भाइरसविरुद्ध लगाउने खोपको तीन डोजका लागि अनुमति माग्ने तयारी गरिरहेको छ । कम्पनीका अनुसार १२ महिनाभित्र तेस्रो डोज खोप लगाउँदा कोरोनाविरुद्ध प्रतिरक्षा प्रणाली नाटकीय रुपले बढ्न सक्छ ।
फाइजरले डेल्टा भेरिएन्टबाट हुने संक्रमणमा पनि सुरक्षा गर्ने दाबी कम्पनीको छ । हाल विश्वभर उपलब्ध खोपको दुई मात्रा डेल्टा भेरिएन्टसहित सबै भेरिएन्टविरुद्ध एन्टीबडी विकास गर्न महत्वपूर्ण मानिएका छन् ।
खोप लगाएको लामो समय हुँदै जाँदा एन्डीबडी पनि स्वभाविक रुपमा कम हुने भएकाले तेस्रो डोजको कुन समयमा उपयुक्त हुन्छ भनेर पत्ता लगाउन प्रयास भइरहेको छ ।
बिहीबार फाइजरका डाक्टर मिकेल डलस्टनले समाचार एजेन्सी एपीसँग कम्पनीको तेस्रो डोजसम्बन्धी अध्ययनको सुरुवाती तथ्यांकबाट मानिसहरुमा एन्टीबडीको स्तर दोस्रो डोजको तुलनामा तेस्रो पटक ५ देखि १० गुणा बढी हुने देखिएको बताए ।
अगस्टमा फाइजरले तेस्रो मात्रा आपतकालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि विभागसँग अनुमति लिने योजना बनाइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij