Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

छाउपडी: दृष्य-अदृष्य 

छाउपडी: दृष्य-अदृष्य 

  • फाल्गुण २२, २०७७ शनिवार ११:२१ बजे
  • 318
    SHARES
  • छाउपडी:  दृष्य-अदृष्य 

    काठमाडौंको बसाइ सधैं दौडधुप । विषेशत जागिर गर्दै पढ्न बसेकालाई ।

    हो, यो समस्याबाट पिडित पात्रहरुमा म स्वयम नपर्ने कुरै भएन ।  यता जागिर जोगाउने पिरलो । उता परीक्षाको चटारो ।

    दिनभरि कार्यालयको काम । फुर्सद भयो कि थकान बिर्साउने क्षणिक माध्यम- सामाजिम सञ्जाल । आफ्नो दिनचर्या जसोतसो बितिरहे तापनि नजिकिरहेको परीक्षाले आगोको रापसरी मन मष्तिष्कमा भतभति पोल्न छाडेको थिएन ।

    मनको आगो थप दन्किन नदिन एक दिनको फुर्सद मिलाएर पढ्न भनी साथीकहाँ जाने निधो गरे । साथीको बसाइ थियो कपन । चावहिलबाट बंगलामुखी यातायातको भिडम्भिड यात्रामा मुस्किलले खुट्टा टेकेरै पुगे ।

    साथीकोमा पुग्दा उनी चाउमिन खाँदै थिइन् । त्यो देखेर सोधिहालें, ‘यति चाँडै खाजा ?’ ‘बिहान खाना नखाएकोले भोक थाम्नै नसकेकाले,’ उनले भनिन् । 
    अनि हत्तपत्त फोन गरेर थप खाजाको होम डेलिभेरी अर्डर गरिन् ।

    बाहिरको फास्टफुड खाँदाखाँदा आजित भइसकेकी मलाई साथीले घरैमा कुनै मिठो अर्गानिक खाजा खुवाउलिन् भन्ने आशा थियो ।
    तर उनको अर्डरपछि मनको कुरा मुखसम्म ल्याउनु उचित ठानिनँ ।

    त्यसपछि पढाइको छलफल गर्न भनी म किताब पल्टाउदै थिएँ । ‘भान्सामा फ्रिजभित्र चिसो छ, निकाल न,’ उसले यसो भनेपछि मैले थपक्क चिसो ल्याएँ ।

    उसले मलाई अर्डर दिएर काम लगाई भनेर कुनै आपत्ति थिएन तर चिसो ऊ आफैंले किन झिकिन भन्ने लाग्यो । यसो लाग्नु जायज पनि थियो किनकि अरु बेला उसको घरमा जादाँ उसैले सबैचिज टक्¥याउँथी । 

    पछि कुरा गर्दै जादा थाहा पाएँ– ऊ मिन्स ( रजस्वला ) भएकी रहेछ । 
    ‘भान्सा साह्रै कुरुप भा’को छ है !,’ उसले भनी, ‘मिन्स भएपछि भाइले भान्सा हेर्छ, छोरा मान्छेलाई सरसफाइको मेलोमेसो के होस् र !’
    उसको यो कुराले म चकित भएँ । किनभने ऊ राजधानीमा बसेकी शिक्षित र सचेत युवती थिइन् ।

    उसले भन्दै गई, ‘डाईनिङ टेबलमा राखेको तरकारी झुक्केर छोएछु । भाइले झन्डै मारेन । अब त्यो तरकारी त्यसेै खेर जान्छ !’ 
    अझ मलाई बुझाउदै भन्न पो थाली, ‘हाम्रो घरमा सबै महिलाहरुले अनिवार्य नछुनी बार्नैपर्छ । तिमीहरूकोमा त पर्दैैैन होला है ?’ 

    उसको यो अभिव्यक्तिसंगै मेरो मानसपटलमा  विगतको त्यस्तै भोगाइ ताजा भए । म चार कक्षामा पढ्दा मेरो आर्यन समुदायकी मितीनीले आफु मिन्स भएको र भान्सा छुन नहुने भन्दै उनको भान्सामा मलाई खाना पस्किदिन अनुरोध गरेकी थिईन् ।

    त्यस बेला पनि मलाई त्यो कुरामा उकुसमुकुस नभएको कहाँ हो र ? जनजाति समुदायमा जन्मेर व्याप्त मााछामासु र जाँड रक्सीमा हुर्केकी मलाई आमाले हाम्रो चलनमा नछुनी बारिरहन नपर्ने भन्दा मापसेमा जति नै मग्न भए पनि यति चाहिँ जानेछन् है मत्वालीले भन्ने लागेको थियो । 

    मलाई त्यस्तो लाग्नु जायज थियो वा थिएन, त्यसमो मैले कुनै सरोकार राखिरहने जमर्को चाहिँ नगरेकै हो । गर्थें पनि कसरी ? नाबालिका जो थिएँ ! 

    बिस्तारै बुझ्ने भएपछि आफ्नो संगतको दौतरीहरुले परम्परागत मान्यताको नाममा त्यहि कुसंस्कारको शीरोधार्य गरिरहँदा म मौन बस्नुबाहेक अरु कुनै विकल्प पाउदिनँ । मिन्स हुँदा आफ्नै बा, दाजुभाइ पतिलगायत कुनै पुरुषलाई छुनसमेत नहने, कुनै खानेकुरा छुँदा पापको परिणाम थोपरिदिनु नै हाम्रो गलत मानसिकता होइन र ?

    मिन्स बारेर बसेकी साथिको भाइप्रति एउटा प्रश्नको उदय भयो । ‘बाबु ! जसलाई तिमी अपवित्र ठान्दै छौ, त्यहि रगतको भण्डारणबाट तिमी जन्मेको होइनौ र ? कि तिमी अरु नै कुनै ग्रहबाट प्रस्थान गरेका हौ ?’

    ती भाइ जागिरमा गएको रहेछन् । घरमै भएको भए सायद मेरो प्रश्नको प्रतिउत्तरमा के बक्थे होला ? हामी सहरमा बस्नेले आफ्नो आङको भैंसी नहेरी अरूको आङको जुम्रा केलाउनु कतिको जायज ? मलाई लाग्छ, हामी विवेकशील प्राणिबाट यस्तो नहुनुपर्ने । तर भइदियो यस्तै ।

    अझ भनौं यस्तै भइरहेछ । पश्चिम नेपालको छाउपडि सुन्दा आङ्ग नै जिरिङ्ग बनाउने हामीलाई सभ्य र शिक्षित भनौदाहरूकैे भिडमा गुम्सिरहेको भान गर्ने फुर्सदसमेत पाएका छैनौं । मेरा प्रिय दिदिबहिनिहरु, अब भन्नुस्, हामी कुन धरातलको कस्तो भुमरीमा रुमलिँदै छौं ? कसैको आस्था र विश्वासको फेरो लत्याउनु मेरो ध्येय विलकुल होइन ।

    त्यो हैसियत पनि कदापि राख्दिन । जहाँसम्म मेरो अनुभव अनुसार अन्धविश्वास, डर, त्रास, गहिरो सामाजिक छापले लपेटिएको मनस्थिति र यावत् विवशताबाहेक आफ्नो इच्छानुसार नछुनी बार्ने महिला भेटिनु औंसीको रातमा चम्किलो चन्द्रमाको फगत परिकल्पना गर्नु सिवाय अरु के नै हुन सक्ला ? मेरा प्रिय दिदिबहिनी, आफुखुसी नभई अनेकौं बन्धनमा परेर आफैंलाई शोषणको खाडलमा किन पुर्दै हुनुहुन्छ ? तपाईं हाम्रो मौन सहन र भित्रभित्रै चिमोटिको मनले हुनेवाला केही छैन ।

    यस्तो खुङ्खार विषयमा आफैंबाट प्रतिकारको बिगुल बेलैमा नघन्काएर कतै हामी आफूले आफैंलाई अन्याय त गरिरहेका छैनौं ? इतिहास साक्षी छ, राणा कालको विरोधबाट प्रजातन्त्र आएको र लोकतन्त्रको स्वाद चाख्ने सौभाग्य राजतन्त्रको विरोेधबाटै सम्भव भएको  । 

    मेरा प्यारा दाजुभाइ, हजुर परिष्कृत र उत्तराधुनिक समाजको पात्र हुनुहुन्छ । अब म यो कसरी विश्वास गरूँ, हजुरले मिन्स भएकी बहिनीलाई अछुतको पगरी थमाइदिनुभएको ।

    सबै पुरूषहरुमा यही खालको मानसिकता छ भन्ने ढिँपी म कदापि गर्दिनँ । यदाकदा ज्ञात अज्ञात दाजुभाइहरूले मिन्सको प्राकृतिक प्रक्रियालाई किन अमानवीय व्यवहारले तर्साउँदै हुनुहुन्छ ?

    आदरणीय पुरुष मित्रहरू, यसलाई चुनौती सम्झनुस् वा अवसर । समानता र आधुनिकताका निमित्त सर्वप्रथम तपाईंमा भएको पुरुष हुनुको अहंकार मिन्सप्रतिको संकुचित विचारको निरूपण गर्ने हो कि ?

    माझी त्रिवि, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा स्नातकोत्तर अध्ययनरत छिन् । 

  • सम्बन्धित विषय:

  • # छाउपडी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology