Logo

२०८३, भाद्र ५ गते शुक्रवार

२०८३, भाद्र ५ गते शुक्रवार

नौ वटा संसदीय समितिको बैठक बस्दै

नौ वटा संसदीय समितिको बैठक बस्दै

  • 71
    SHARES
  • नौ वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । आज नौ वटा संसदीय समितिको बैठक बस्दै छ । 

    अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने भएको हो । 

    यसैगरी आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

    बिहान ११ बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायतका सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्दै छ । बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ । 

    बिहान १० बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपालमा जैविक र प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने’ सम्बन्धमा उत्पादकहरूसँग छलफल’ गर्ने कार्यसूची छ ।

    बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाका बारेमा छलफल हुने छ । 

    बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ । 

    यस्तै, बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

    सार्वजनिक लेखा समितिको बैठक अपराह्न १ बजे बस्ने भएको छ । बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । 

    अपराह्न १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायिकी अन्तरसम्बन्धमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij