Logo

२०८३, आश्विन २९ गते बिहिवार

२०८३, आश्विन २९ गते बिहिवार

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम सम्पन्न

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम सम्पन्न

  • 417
    SHARES
  • मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम सम्पन्न

    काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम सम्पन्न भएको छ । धापासीस्थित द रामालयमा आयोजित कार्यक्रममा प्रतियोगीहरूले डिजाइनर श्री आभी बुटिकका आकर्षक पहिरनमा र्‍याम्प वाक गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । 

    मिसेस नेपाल वर्ल्ड २०२६ की प्रतियोगी नम्बर ४ ऋचा शर्माले विवाहित महिलाहरूको आत्मविश्वास बढाउन र प्रतिभा प्रदर्शन गर्न प्रतियोगिता राम्रो मञ्च बनेको बताइन् । ललितपुरको धोबीघाटमा बस्दै आएकी शर्माले मिसेस नेपाल वर्ल्डमा सहभागी हुनु आफ्नो सपना रहेको उल्लेख गरिन् । महिलाहरूलाई अगाडि बढ्ने चाहना हुँदाहुँदै पनि विविध कारणले नसक्ने भन्दै उनले प्रयास नगरेसम्म आफ्नो क्षमता र सीमाबारे थाहा नहुने बताइन् । महिलाहरूले आफ्ना इच्छा र बाल्यकालदेखि अधुरा रहेका चाहना पूरा गर्न यस्ता अवसरको उपयोग गर्नुपर्ने उनको भनाइ छ । 

    ‘यो महिलाहरूका लागि अगाडि बढ्ने राम्रो मञ्च हो। यो जीवनको दोस्रो अवसरजस्तै हो। अविवाहित महिलाले मात्र नभई विवाहित महिलाले पनि यस्ता प्रतियोगितामा भाग लिन सक्छन्,’ शर्माले भनिन् । उनका अनुसार प्रतियोगितामा सहभागी हुँदा र्‍याम्प वाकमा मात्र सीमित नभई ग्रुमिङलगायत विभिन्न कक्षामार्फत धेरै कुरा सिक्ने अवसर मिल्छ । यसले महिलाहरूको आत्मविश्वास बढाउन र आफ्नो प्रतिभा प्रस्तुत गर्न सहयोग पुग्ने उनले बताइन् । 

    कार्यक्रममा सहभागी छाला रोग विशेषज्ञ डा। सुचना मराठाले पनि मिसेस नेपाल वर्ल्ड विवाहित महिलाहरूका लागि प्रतिभा प्रदर्शन गर्ने राम्रो मञ्च भएको बताइन् । प्रतियोगितामार्फत महिलाहरूले आफ्ना क्षमता र प्रतिभा प्रस्तुत गर्न सक्ने उनको भनाइ छ । आयोजकसँग जोडिएपछि मात्र आफूले कार्यक्रमबारे विस्तृत रूपमा थाहा पाएको बताउँदै डा। मराठाले प्रतियोगीहरूको छालाको स्वास्थ्य र हेरचाहका विषयमा पनि आफूले सहयोग गरिरहेको जानकारी दिइन् । ग्ल्याम नाइटमा प्रस्तुत पहिरन र कार्यक्रमको व्यवस्थापनको प्रशंसा गर्दै उनले आयोजक तथा द रामालयप्रति आभार व्यक्त गरिन् । 

    रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निसुकान्त झाले प्रतियोगीहरूको उत्साहपूर्ण सहभागिता र मञ्चमा देखिएको आत्मविश्वास प्रशंसनीय रहेको बताए। घरपरिवार र दैनिक जिम्मेवारीमा सीमित रहेका महिलाहरूले मञ्चमा आएर आफ्नो क्षमता प्रस्तुत गर्नु खुसीको विषय भएको उनले उल्लेख गरे । झाका अनुसार मिसेस नेपाल वर्ल्डको यो पाँचौँ संस्करण हो भने मिसेस नेपाल इन्टरनेसनलको दसौँ संस्करण हो । यस वर्षदेखि ‘मिसेस नेपाल कस्मो’ पनि थपिएको छ, जसको पहिलो संस्करण आयोजना हुँदैछ ।

    प्रतियोगितामा सहभागी हुन २१ देखि ५० वर्षसम्मको उमेर हुनुपर्ने व्यवस्था रहेको झाले जानकारी दिए । विवाहित, सम्बन्धविच्छेद भएका वा एकल महिलाका लागि ‘एमएस नेपाल’ विधा पनि रहेको उनले बताए । ग्ल्याम नाइटपछि प्रतियोगिता ग्रान्ड फिनालेतर्फ अघि बढ्ने आयोजकले जनाएको छ । ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुने अध्यक्ष झाले जानकारी दिए। प्रतियोगितालाई सफल बनाउन प्रतियोगी, दर्शक तथा शुभेच्छुकहरूको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij