Logo

२०८३, आश्विन २९ गते बिहिवार

२०८३, आश्विन २९ गते बिहिवार

कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै

कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै

  • 78
    SHARES
  • कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै

    काठमाडौं । कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन क्षेत्रको विकास प्रभावित भएको छ । पर्यटकको आवागमन बढेअनुसार सुरक्षित पदमार्ग, व्यवस्थित आवास, सञ्चार सुविधा र सहज यातायातको व्यवस्था हुन नसक्दा कर्णालीको पर्यटन सम्भावनालाई आर्थिक लाभमा रूपान्तरण गर्न चुनौती देखिएको हो ।

    प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा सात आर्थिक वर्षको अवधिमा पाँच लाख ४० हजार ७२८ जना आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशको तथ्यांक छ । प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका दृष्टिले सम्भावनायुक्त कर्णालीमा पर्यटकको चहलपहल बढे पनि पूर्वाधार विकासका केही बहुवर्षीय आयोजना अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन् । मन्त्रालयका अनुसार सुर्खेतको बुलबुले तालमा दुई लाख ९४ हजार ४०१ जना र प्रदेश सहिद पार्कमा एक लाख ४० हजार ३०० जनाले भ्रमण गरेका छन् । 

    मुगुको रारातालमा २४ हजार ९३१, सल्यानको कुपिण्डे दहमा करिब ११ हजार, डोल्पाको शे–फोक्सुण्डो तालमा सात हजार २२८ र सुर्खेतको काँक्रेविहारमा पाँच हजार ४६८ जनाले भ्रमण गरेका छन् । त्यस्तै, हुम्लामा हवाई मार्गबाट चार हजार ५८९ जना पुगेका छन् भने सुर्खेतको बयलकाँडामा २१५ जनाले प्याराग्लाइडिङ गरेका छन् । पर्यटकको आकर्षण र सम्भावना देखिए पनि प्रमुख गन्तव्यमा आवश्यक सुविधा विस्तार हुन नसकेको पर्यटन व्यवसायीको भनाइ छ । विशेषगरी हिमाली तथा दुर्गम क्षेत्रमा यात्रा गर्ने पर्यटकका लागि सुरक्षित आवागमन, बास बस्ने स्थान, सञ्चार सम्पर्क र आपत्कालीन उद्धारको व्यवस्था आवश्यक रहेको उनीहरू बताउँछन् । पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले पर्यटक आउनु मात्र पर्याप्त नहुने भन्दै उनीहरूको यात्रालाई सुरक्षित, सहज र सुविधायुक्त बनाउन राज्यले पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । पर्यटकलाई एकपटक आएपछि पुनः भ्रमण गर्न प्रेरित गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

    ‘पूर्वाधार निर्माण नहुँदा पनि कर्णालीमा उत्साहजनक रूपमा पर्यटक आइरहेका छन् । पर्यटकलाई सहज आवागमन, सुविधासम्पन्न होटल र सुरक्षित यात्राको वातावरण आवश्यक छ,’ झाँक्रीले भने । उनका अनुसार डोल्पाको सदरमुकाम दुनैदेखि फोक्सुण्डो तालसम्मको बाटोमा रहेका काठेपुलको स्तरोन्नति गर्न जरुरी छ । उपल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा पुग्ने पदमार्गमा बास बस्न मिल्ने भौतिक संरचना निर्माण नहुँदा पर्यटकले कठिनाइ भोग्नुपर्ने अवस्था छ । विशेषगरी अग्ला भञ्ज्याङ र हिमाली क्षेत्रमा हिँड्दाहिँड्दै रात परेमा वा हिमपात भएमा सुरक्षित आश्रय लिन सकिने संरचना आवश्यक रहेको उनले बताए । दुर्गम पर्यटकीय क्षेत्रमा सञ्चार सुविधा विस्तार, पदमार्गको मर्मतसम्भार र आवश्यक स्थानमा विश्रामस्थल निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

    ‘पर्यटक आउनु मात्र ठूलो कुरा होइन, उनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउनु पनि उत्तिकै महत्त्वपूर्ण छ । रारा, फोक्सुण्डोलगायतका क्षेत्रमा पूर्वाधार निर्माणमा भएको ढिलाइले पर्यटनमा नकारात्मक प्रभाव पारेको छ,’ झाँक्रीले भने, ‘सरकारले बनाएका कार्ययोजना कडाइका साथ कार्यान्वयन गर्नुपर्छ र निर्माण व्यवसायीले जिम्मा लिएका काम समयमै सम्पन्न गराउन दबाब दिनुपर्छ ।’ पर्यटकीय पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले करोडौँ रुपैयाँ लगानी गरे पनि केही आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । मन्त्रालयको विवरणअनुसार मुगुको रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको सम्झौता रकम चार करोड ५२ लाख ९१ हजार रुपैयाँभन्दा बढी छ । तर आयोजनाको भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगति ३२ प्रतिशत पुगेको छ । आयोजनाको अवधि २०८३ असार मसान्तसम्म उल्लेख गरिएको छ भने म्याद थपको प्रक्रिया चलिरहेको मन्त्रालयको विवरणमा जनाइएको छ ।

    त्यस्तै, सुर्खेतको काँक्रेविहार वरिपरि कम्पाउन्ड वाल निर्माणको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत छ । एक करोड १८ लाख ५४ हजार रुपैयाँभन्दा बढी सम्झौता रकम रहेको यस आयोजनाको म्याद तीन पटक थप गरिएको छ । रुकुम पश्चिमको खारा जनयुद्ध संग्रहालय निर्माणमा एक करोड २८ लाख ९६ हजार ७९३ रुपैयाँ सम्झौता रकम रहेको छ । आयोजनाको भौतिक प्रगति ५८ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत छ । २०८२ असार मसान्तमा म्याद समाप्त भएको विवरणमा उल्लेख भएपनि आयोजनाको म्याद दुई पटक थप गरिएको छ । सुर्खेतको चौहान पार्क निर्माणका लागि दुई करोड २८ लाख ९७ हजार रुपैयाँभन्दा बढी सम्झौता रकम रहेको छ । यसको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत छ । आयोजनाको अवधि २०८४ असार मसान्तसम्म रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

    यी आयोजनाको प्रगतिले बजेट विनियोजनसँगै निर्माण कार्यको गति, समयसीमाको पालना र खर्चको प्रभावकारितामा समेत ध्यान दिनुपर्ने देखाउँछ । विशेषगरी राराजस्तो प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणको भौतिक प्रगति न्यून हुँदा पर्यटकका लागि आवश्यक सुविधा विस्तारमा चुनौती थपिएको छ । कर्णाली प्रदेश पर्यटन गुरुयोजना (२०७७/७८/२०८६/८७) ले प्रदेशका दसवटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटेको छ । पर्यटन उत्पादनको विकास तथा स्तरोन्नति, पूर्वाधार निर्माण, सामुदायिक सहभागिता, लगानी प्रवर्द्धन, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, दक्ष जनशक्ति विकास र बजार व्यवस्थापनलाई गुरुयोजनाले प्राथमिकतामा राखेको छ । गुरुयोजनामा सल्यानको कुपिण्डे दह, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा बाला त्रिपुरासुन्दरी धार्मिक क्षेत्र, जुम्लाको सिंजा सभ्यता तथा दुडुल स्तुपा र हुम्लाको लिमी उपत्यका प्रमुख गन्तव्यका रूपमा समेटिएका छन् । मुगुको राराताल तथा रारा–शे–फोक्सुण्डो पदयात्रा मार्ग, कालिकोटको पचाल झरना, जाजरकोटको खलंगा दरबार क्षेत्र र दैलेखको पञ्चकोशी धार्मिक क्षेत्र पनि पर्यटन विकासका सम्भावनायुक्त स्थल हुन् ।

    त्यसैगरी, सुर्खेतको काँक्रेविहार, देउती बज्यै, मदन–आश्रित पार्क, जजुरादह, पञ्चपुरी क्षेत्रका गुसी ताल तथा मादले, शिव गुफा र गिद्धे डाँडा तथा रुकुम पश्चिमको गोतामकोट–चित्रिपाटन साहसिक पदमार्गलाई पनि गुरुयोजनामा समेटिएको छ । तर गन्तव्य पहिचान र योजना निर्माणले मात्र पर्यटन क्षेत्रको अपेक्षित विकास सम्भव नहुने व्यवसायीको भनाइ छ । पहिचान गरिएका गन्तव्यमा आवश्यक पूर्वाधार निर्माण, नियमित मर्मतसम्भार, प्रभावकारी प्रचारप्रसार र स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरू बताउँछन् । कर्णालीमा साहसिक पर्यटन विकासका लागि ग्रेट हिमालयन ट्रेलअन्तर्गत उपल्लो, मध्य र तल्लो कर्णालीका पदयात्रामार्ग पहिचान गरिएका छन् । यी मार्गले डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट र रुकुम पश्चिमका हिमाली तथा पहाडी क्षेत्रलाई जोड्ने लक्ष्य राखेका छन् ।

    रारातालदेखि शे–फोक्सुण्डो तालसम्मको पदयात्रा, शे–फोक्सुण्डो हुँदै धो–ताराप र मुस्ताङको सीमासम्म पुग्ने मार्ग तथा रुकुम पश्चिमबाट जाजरकोट र कालिकोट हुँदै खप्तड राष्ट्रिय निकुञ्जसम्म जोडिने तल्लो कर्णालीको मार्ग साहसिक पर्यटनका सम्भावित आधार हुन् । यस्ता पदमार्ग व्यवस्थित गर्न सके पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीय होटल, होमस्टे, यातायात सेवा, पथप्रदर्शक र स्थानीय उत्पादनको बजार विस्तार हुन सक्छ । तर दुर्गम भूगोल, प्रतिकूल मौसम र आधारभूत सेवाको अभावलाई ध्यानमा राखेर सुरक्षित आवागमन, नियमित पदमार्ग मर्मत, सञ्चार सम्पर्क, उद्धार सेवा र बास बस्ने संरचना निर्माण गर्न आवश्यक छ । विशेषगरी उपल्लो डोल्पाजस्ता दुर्गम क्षेत्रमा पदयात्राका क्रममा हिमपात वा खराब मौसमको सामना गर्नुपरेमा पर्यटक सुरक्षित रहन सक्ने संरचना आवश्यक हुने व्यवसायी झाँक्रीको भनाइ छ । त्यसैले पदमार्ग पहिचानसँगै तिनको व्यावहारिक उपयोग र सुरक्षाको प्रत्याभूति गर्ने पूर्वाधारमा लगानी गर्नुपर्ने देखिन्छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले लगानी गरिरहेको बताइन् । उनका अनुसार पर्यटकीय स्थलको संरक्षण, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । मन्त्रालयका अनुसार सल्यानको कुपिण्डे क्षेत्रको जलाधार संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि तीन करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त कार्यक्रमको काम सुरु गर्ने तयारी रहेको उल्लेख छ । त्यस्तै, पर्यटक तथा दर्शकसम्बन्धी कार्यक्रम सञ्चालनका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री खड्काले बताइन् । पर्यटन क्षेत्रमा बजेट विनियोजन हुनु सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयन, खर्चको प्रतिफल र निर्माण सम्पन्न भएपछि पर्यटकले पाउने सुविधाको मूल्यांकन उत्तिकै महत्त्वपूर्ण छ । निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने, ठेक्का सम्झौताअनुसार काम गराउने र ढिलाइको जवाफदेहिता सुनिश्चित गर्ने विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।

    पर्यटन व्यवसायी झाँक्रीले पर्यटन गुरुयोजनाले पहिचान गरेका गन्तव्यमा लगानी विस्तार, दक्ष जनशक्ति उत्पादन, स्थानीय समुदायको सहभागिता र प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको बताए । पर्यटकको संख्या बढाउने लक्ष्यसँगै उनीहरूको बसाइ अवधि, स्थानीय रोजगारी, स्थानीय उत्पादनको बिक्री र पर्यटनबाट समुदायले प्राप्त गर्ने लाभलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । कर्णालीका पर्यटकीय गन्तव्यमा पर्यटक पुग्नु सम्भावनाको संकेत भए पनि त्यसलाई दिगो पर्यटन विकासमा बदल्न राज्यको लगानीको प्रभावकारिता सुनिश्चित गर्नुपर्ने देखिन्छ । रारा र फोक्सुण्डोजस्ता प्रमुख गन्तव्यमा आधारभूत सुविधा विस्तार, हिमाली पदमार्गको स्तरोन्नति, सुरक्षित आश्रयस्थल निर्माण, सञ्चार सेवा विस्तार र निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न सके पर्यटकलाई पुनः भ्रमणका लागि आकर्षित गर्न तथा पर्यटनबाट स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ बढाउन मद्दत पुग्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij