वेबटिभी खबर
काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका-८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे जुनिचाँदे गाउँपालिका-८ पंकस्थित बाटोमा घटना भएको हो । घटनाको जानकारी राति करिब ९ः४० बजे प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ । घटनापछि बले थापा फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij