वेबटिभी खबर
काठमाडौं । विभिन्न विपद्का घटनाहरूका कारण देशका केही स्थानहरूमा मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको आज बिहान ७ बजेसम्म अनुसार गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण यातायात अवरुद्ध बनेको हो ।
गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लामा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । आरुघाट गाउँपालिका वडा नं.२ र ३ स्थित उक्त स्थानमा बाढीका कारण बाटो बन्द भएको प्रहरीले जनाएको छ।
कालिगण्डकी गाउँपालिका वडा नं.२ रोक्सेस्थित कालिगण्डकी करिडोर सडक खण्ड पहिराका कारण बाटो बन्द भए पनि हाल एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ । कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका वडा नं.७ औलिसेमा कर्णाली राजमार्गमा पहिरो खसेको थियो। उक्त सडक खण्डमा पनि हाल एकतर्फी मात्र बाटो खुलाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij