Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ घटना दर्ता

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ घटना दर्ता

  • 552
    SHARES
  • एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ घटना दर्ता

    काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता भएका छन् । २०७८ वैशाख २१ देखि २०७९ वैशाख १२ गतेसम्मको अवधिमा ती घटना दर्ता भएका हुन् । नेपाल पत्रकार महासंघले आज सार्वजनिक गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ मा उक्त तथ्यांक प्रस्तुत गरिएको हो ।

    गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरूको संख्यामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता अनुगमन इकाईमा यस वर्ष विभिन्न प्रकृतिका ७५ वटा घटना दर्ता भएका छन् जसमध्ये सबैभन्दा बढी पेशागत असुरक्षासम्बन्धी घटनाहरू रहेका छन् ।

    गतवर्ष यसै अवधिमा जम्मा ४५ वटा घटना रेकर्ड भएका थिए । यस वर्ष दर्ता भएका ७५ वटा घटनामा २८१ पत्रकार तथा सञ्चारगृहहरू प्रभावित भएको महासंघले जनाएको छ । सबैभन्दा बढी घटना बागमती प्रदेशमा देखिएको छ ।

    लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रले भोग्दै आएको मुख्य समस्या श्रमजीवी पत्रकारहरूको पेशागत अधिकारसम्बन्धी समस्या हो । २८ वर्षपश्चात पनि धेरै जसो सञ्चारगृहहरूले श्रमजिवी पत्रकार ऐन, २०५१ को पूर्ण कार्यान्वयन गरेका छैनन् ।

    जसका कारण पत्रकारहरूले न्यून पारिश्रमिक पाउने, समयममा पारिश्रमिक नपाउने, अनायासै निष्काशनमा पर्ने, नियुक्तिपत्र नै नपाउने जस्ता समस्याहरू अझै पनि यथावत् रहेको प्रतिवेदनमा उल्लेख छ ।

    पछिल्लो एक वर्षमा नेपालमा पत्रकार हत्या तथा बेपत्ताका घटना नभएका प्रतिवेदनमा उल्लेख गरिएको छ । तर पत्रकार गिरफ्तारका तीन वटा घटना भएको जनाइएको छ । त्यस्तै स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका ९ वटा घटना भएका छन् ।

    पत्रकारमाथि आक्रमणको १, दुव्र्यवहार तथा धम्कीका २८ वटा घटना भएका छन् भने पेशागत असुरक्षाका ३१ घटना दर्ता भएका छन् । महासंघ प्रेस स्वतन्त्रता अनुगमन इकाईको रेकर्डका अनुसार बागमती प्रदेशमा ५४ वटा यस्ता घटना भएका थिए भने सुदूरपश्चिम प्रदेशमा कुनै पनि घटना रेकर्ड गरिएन ।

    त्यसैगरी प्रदेश नं १ मा ६, मधेश प्रदेशमा ६, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा २ र कर्णाली प्रदेशमा ५ वटा घटना भएका थिए । यस अवधिमा २३९ पुरूष पत्रकार, ३३ महिला पत्रकार र ९ वटा सञ्चार संस्थाहरू प्रेस स्वतन्त्रता उल्लंघनका घटनाबाट प्रताडित भएको प्रतिवेदनमा जनाइएको छ ।

    घटनाको प्रकृतिका आधारमा हेर्दा यस वर्ष सबैभन्दा बढी पत्रकारहरूको पेशागत सुरक्षाका घटनाहरू बढी देखिएका छन् । पेशागत असुरक्षाका घटनाहरूमा मुख्यरूपमा कोरोना महामारीको बहानामा पत्रकारहरूलाई रोजगारीबाट हटाइएका वा तलब सुविधा उपलब्ध नगराइएका घटनाहरू मुख्य रहेका छन् ।

    ‘पेशागत असुरक्षाका ३१ वटा घटनामा १८६ पत्रकारहरू पीडित भएका थिए । त्यसैगरी पत्रकारहरूमाथि दुर्व्यवाहार वा धम्कीका २८ घटनाहरू रेकर्ड भएका छन् भने कब्जा वा अवरोधका ९ वटा घटना रेकर्ड भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij