वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका क्षेत्रभित्र भिक्षा माग्न निषेध गरेको छ ।
महानगर भित्रको सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यलय वा सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको जानकारीसहित महानगरले सूचना जारी गरेको हो ।
बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भिख माग्न वा भिख माग्न दुरुत्साहन नगर्न नगराउन पनि महानगरले आग्रह गरेको छ ।
त्यस्तै असहाय, बिरामी, बेवारिसे र अशक्त लगायतले पनि सडकमा भिख माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको जनाएको छ ।
यद्यपी, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भने भिक्षा माग्न रोक नलगाइने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij