वेबटिभी खबर
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रूपैयाँ सहुलियत ऋण लिने निर्णय भएको जनाएका छन् ।
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको उनको भनाइ छ ।
यस्तै सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका कार्यक्रम र परियोजनाका लागि साढे ६ सय अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका विभिन्न कार्यक्रम र परियोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको प्रवक्ता कार्कीले बताए ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij