वेबटिभी खबर
एजेन्सी । रूसले युक्रेनीप्रति आक्रमणको बदला लिन पूर्वीयुक्रेनमा विद्युत् लाइन काटेर मानिसहरूलाई अन्धकारमय बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
युक्रेनले रूसले कब्जामा गरेको ३ हजार वर्ग किलोमिटर भूभाग पुनः फिर्ता गरेको दाबी गरिरहेका बेला रूसले विद्युत् काटिदिएको हो । विद्युत् पूर्णरूपमा काटिनुले खार्किभ र दोनेत्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बताइएको छ ।
खार्किभका मेयर इहोर तेरेखोभले नागरिक पूर्वाधारमा रूसी आक्रमणले उक्त सहरको धेरैजसो भागमा बिजुली वा पानी नभएको बताए । उनले यसलाई युक्रेनी सेनाको पछिल्लो सफलताको बदला लिने एउटा ‘घिनलाग्दो र निन्दनीय प्रयास’ भनेका छन् ।
उक्त सहरमा दुई वटा मिसाइल हमला भएको बीबीसीले जनाएको छ । तेरेखोभ र उक्त राज्यका गर्भनरले सर्वसाधारणलाई शान्त हुन आह्वान गरेका छन् । आकस्मिक सेवाहरूले क्षति मर्मत गर्न र आगो निभाउन काम गरिरहेका बताइएको छ ।
छिमेकी सुमी क्षेत्रका गभर्नरले एक जिल्लामा मात्रै १३० भन्दाबढी बस्ती विद्युतविहीन रहेको बताए । दिनिप्रोपेत्रोभ्क्स र पोल्टाभा क्षेत्रका वासिन्दा पनि विद्युतविहीन भएका छन् ।
बिजुली कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले रसियाले नागरिक पूर्वाधारलाई लक्षित गरेर आतंकवादी कार्य गरेको आरोप लगाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij