Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

तीन दिनमै कभर्ड हल चिटिक्क सीमित पूर्वाधारमा उल्लासपूर्ण खेल

तीन दिनमै कभर्ड हल चिटिक्क सीमित पूर्वाधारमा उल्लासपूर्ण खेल

  • 322
    SHARES
  • तीन दिनमै कभर्ड हल चिटिक्क सीमित पूर्वाधारमा उल्लासपूर्ण खेल

    बाग्लुङ । लामो समयको प्रयासमा निर्माण गरिएको बाग्लुङको बाङ्गेचौरस्थित कभर्ड हलमा नवौंं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताका लागि पर्याप्त आवश्यक पूर्वाधार थिएन।

    सानो कभर्डहल, बाहिरी संरचना अस्तव्यस्त, टिनको छानोमुनी खेल आयोजना गर्न निकै कठिन र चुनौतीपूर्णनै थियो । विद्युत्, खानेपानी तथा शौचालयको व्यवस्थापन नभएको सो हल तीन दिनमै चिटिक्क पर्‍यो ।

    हलको रातारात मर्मत सम्भार, रंगरोगन तथा विद्युतीकरण गरियो । बाहिरी संरचना रातारात परिवर्तन गरेर सम्माइयो । सीमित भौतिक पूर्वाधार र छोटो समयको तयारीमा बाग्लुङमा प्रतियोगिता उल्लाहसपूर्ण वातावरणमा सम्पन्न भयो ।

    ‘म खेल सुरु हुनु भन्दा तीन दिन पहिला यहाँ आउँदा कभर्डहल बाहिर झाडी पलाएको रहेछ, हलमा खेल्न अन्य कुनै पूर्वाधार थिएन, यस्तो स्थानमा राष्ट्रिय खेल हुन्छ र ? भन्ने लाग्यो तर यहाँको बाग्लुङ नगरपालिका खेलप्रति उत्साहित रहेछ, हामीले रातदिन खटिएर काम गर्दा परिणाम निकाल्यौंं’, तेक्वान्दो खेलकुद प्रतियोगिताका मुख्य प्रशिक्षक अञ्जु रावतले भने ।

    ‘साच्चिकै यहाँको व्यवस्थापकीय पक्ष निकै राम्रो पायौं, हल पर्याप्त थिएन, सानो हलमा खेलाडीलाई समस्या थियो । तर स्थानीय व्यवस्थापकले खुल्ला रुपमा दर्शकले हेर्ने गरी समेत प्रतियोगिताको व्यवस्थापन गरिएको रहेछ, खुसी छु कुनै खेलाडीले खाना र बस्नको विषयमा गुनासो गरेनन् ।’

    खेलाडी धेरै दर्शकको बीचमा खेल प्रदर्शन गर्न चाहने भएकाले हल अत्यन्तै सानो भएको रावतको भनाइ छ । उनका अनुसार राष्ट्रिय खेललाई हल सानो भए पनि अन्य सेवा सुविधा, भौगोलिक वातावरण र खेलाडीको उत्साहका कारण यहाँ प्रतियोगिता सफल भएको छ ।

    राष्ट्रिय प्रतियोगिताले बाग्लुङमा खेलप्रतिको उत्साह थपेको छ । स्थानीय दर्शकलाई आइटिएफ तेक्वान्दो खेलप्रतिको रुचि बढाएको छ । हल सानो भएपछि बाङ्गेचौर खेलमैदानमा रोचक खालका आइटिएफ खेल दर्शकमाझ खेलाइएको बाग्लुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

    राष्ट्रिय खेलका कारण बाग्लुङमा खेलकुद पूर्वाधार निर्माणमा राज्यको ध्यानाकर्षण भएको खड्काको भनाइ छ । राष्ट्रिय खेलकुदका कारण बाग्लुङमा खेल पूर्वाधार निर्माणको ढोका खोलिएको खेलप्रेमीको भनाइ छ ।

    ‘छोटो समयमा जे जति सकियो गरियो, समग्रमा बाग्लुङले राष्ट्रिय प्रतियोगितामा यहाँ परेको खेल सञ्चालन गर्न सक्यो भन्ने लाग्छ, यसले यहाँको पर्यटन र व्यापार व्यवसायमा सुधार आएको छ’, खड्काले भने ।

    ‘प्रतियोगिता सञ्चालनका क्रममा केही पूर्वाधारको अभाव खड्किएको छ, नगरपालिकाले विस्तारै पूर्वाधार थप गर्दै जानेछ, बाग्लुङवासीले प्रतियोगितालाई उत्सापूर्ण ढंगले हेरेका छन्, सबैको सहयोगले राष्ट्रिय प्रतियोगिता सम्पन्न भएकोमा स्थानीय व्यवस्थापक बाग्लुङ नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दछौं ।’

    कभर्डहल सानो हुँदा दर्शकलाई समस्या भए पनि खेलाडीले उत्साहपूर्णरूपमा खेल प्रदर्शन गरेका थिए । जिल्लास्तरीय प्रतियोगिताका लागि निर्माण गरिएको हलमा राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्ने कुरा एकदमै ठूलो भएको आइटिएफ तेक्वान्दो प्रतियोगिताका खेलाडी रुविका खड्काले बताइन् ।

    खड्काले खेलाडी बाग्लुङप्रति निकै सकरात्मक भएर घर फर्किन थालेको जानकारी दिइन् । ‘यहाँ सबैभन्दा बढी राम्रो लागेको होटल र खानाको व्यवस्थापन हो, कुनै खेलाडीको गुनासो पाइन, भौगोलिक हिसाबले निकै शान्त र रमणीय वातावरणमा खेल खेल्न पाइयो’, खड्काले भनिन् ।

    ‘आगामी दिनमा बाग्लुङले खेल पूर्वाधारमा वृद्धि गरोस्, कम्तीमा एक हजार दर्शक अटाउने बहुउद्देश्यीय कवर्डहल निर्माण गरोस् ।’ उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको नवौंं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताले बाग्लुङमा खेल पूर्वाधार भने थप गर्न आवश्यक देखाएको खेलको स्थानीय व्यवस्थापक बाग्लुङ नगरपालिकाले जनाएको छ ।

    आइटिएफको उर्वर भूमिमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा नेपालभरका आइटिएफ तेक्वान्दोका खेलाडी, प्रशिक्षक, तथा अतिथिले बाग्लुङको विषयमा जान्न पाउने मौका पाए । खेल पूर्वाधारमा सहयोग गर्ने आश्वासन दिएको जिल्ला खेलकुद विकास समिति बाग्लुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

    यो प्रतियोगिताले बाग्लुङको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको स्थानीय अर्जुन चोखालले बताए । चोखालका अनुसार देशभरका खेलाडीले बाग्लुङका चर्चित पर्यटकीय स्थलको अवलोकन गरे ।

    उद्घाटन समारोहमा बाग्लुङमा संरक्षित कला तथा संस्कृति सतिघाटु, लाखे नाच, घोडा नाच, यानीमाया र मालाश्री प्रदर्शन गरियो । उद्घाटनमा दुई हजार बढी दर्शकको सहभागिता थियो ।

    असोज २९ देखि सुरु भएको खेल कात्तिक २ गते सम्पन्न भयो । आइटिएफ तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय गरी १० टिमका दुई सय ५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० टिम कोच, अफिसिएल तथा म्यानेजर सहभागी थिए ।

    बाग्लुङमा पहिलो पटक भएको सो प्रतियोगितामा खेलाडीले ४५ स्वर्ण ४५ रजत र ३० कास्य गरी कूल एक सय २० पदकका लागि प्रतिस्पर्धा गरे । सो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी १३ स्वर्ण, आठ रजत र तीन कांस्यसहित २४ पदककासाथ पदक तालिकाको शीर्षस्थानमा रहेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij