वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर नतिजाबारे आंकलन भइसकेको छ ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी क्रमशः हैसियतमा छन् ।
कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठन प्रक्रिया सुरु हुनेछ ।
संविधानको धारा ७६ (२)को व्यवस्था अनुसारप्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने छिन् ।
सांसद्हरूले शपथ खाएका छैनन् तर पनि नेताहरूले प्रधानमन्त्रीको लागि तयारी थालिसकेका छन् ।
प्रधानमन्त्री बन्न र सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिलाउन अहिले विभिन्न दलका नेताहरू औपचारिक तथा अनौपचारिक रूपमा छलफलमा जुटिरहेका छन् । पहिलो दलको हैसियत प्राप्त कांग्रेसका आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षीको रूपमा आफूलाई अघिसारेका छन् ।
अरु दलमा जस्तै कांग्रेसमा पनि यसअघि पटक-पटक सरकार र पार्टीको नेतृत्व गरिसकेका शेरबहादुर देउवा प्रधानमन्त्रीमा पुनः दोहोरिने तयारीमा छन् । वर्तमान प्रधानमन्त्री देउवा अब बन्ने नयाँ सरकारको पनि नेतृत्व गर्न चाहिरहेका छन् । उनले आफू निकट नेताहरूको सहयोगमा आफूलाई संसदीय दलको नेताका लागि तयारी थालिसकेका छन् ।
पाँचपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति देउवालाई अझै सत्ताकाे माेहले छाडेकाे छैन् । उनी पार्टीभित्रका अन्य नेताहरूलाई देशकाे नेतृत्व सुम्पिने चाहनामा देखिएका छैनन् । देउवाले मंगलबार मात्रै कांग्रेस नेता डा.शशांक कोइरालालाई संसदीय दलको नेता बनाउन आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
देउवा निकट नेताहरूले पनि पार्टीका अन्य नेताहरूलाई संसदीय दलकाे नेतामा देउवालाई नै जिताउन अनुराेध गरिरहेका छन् ।
यता कांग्रेसका महामन्त्री गगन थापा पनि प्रधानमन्त्री बन्ने तयारीमा छन् ।
उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायत युवा नेताहरूले समर्थन गर्ने देखिएको छ भने प्रधानमन्त्री देउवालाई रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितका नेताहरू सहयोग गर्ने देखिएको छ । तर पौडेलले पनि आफूलाई प्रधानमन्त्रीको योग्य उम्मेदवारको रूपमा हेरिरहेका छन् ।
गत वर्ष सम्पन्न महाधिवेशनबाट पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका थापालाई संसदीय दलकाे नेता बन्न देउवाले चुनाैति दिइरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij