वेबटिभी खबर
बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताएका छन। नेपाली लेखक सङ्घ झापाले शनिबार अर्जुनधारामा आयोजना गरेको ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले त्यस्तो बताएका हुन।
महामन्त्री शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताए । 'सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नुपर्छ,' उनले भने, 'राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ ।'
कार्यक्रममा झापा क्षेत्र नं १ का सांसदसमेत रहेका शर्माले ‘बैशाखी’ शीर्षकको कवितासमेत वाचन गरेका थिए। पार्टीले लेखक सङ्घ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकार्दै उनले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।
'लेखक सङ्घलाई प्रभावकारी बनाउन मैले पहिला पनि काम गरेको थिएँ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनेछ,' उनले भने, 'लेखकहरु समाज रुपान्तरण र परिवर्तनका सम्वाहक हुन् ।' कार्यक्रममा लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठ, महासचिव सोझो गाउँलेले सङ्घका गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिएका थिए। ज्ञानमणि नेपालले राष्ट्रिय लेखक दिवस, सन्दर्भ र औचित्य, कृष्ण बरालले लीला लेखन, विचार र बहस विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र माथि शैलेन्द्रप्रसाद नेपाल, अनुपमा रेग्मी, प्राज्ञ मुनाराज शेर्मा, विष्णुकुमार भट्टराईलगायतले टिप्पणी गरेका थिए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij