वेबटिभी खबर
बाग्लुङ । चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बाग्लुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन।
यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन । जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएको छ ।
बाँकी केही ठूला आयोजनाको काम चलिरहेका छन । बहुवर्षे कार्यक्रमको भुक्तानी दिन बाँकी छ । नगर र वडास्तरका सबै योजनाको काम चैत मसान्तभित्रै सकिएकाले कर्मचारी र जनप्रतिनिधि फुर्सदिला भएका हुन ।
जैमिनीले चालु आवमा विनियोजन भएका कार्यक्रम सम्झौताका लागि मंसिर मसान्तको समय तोकेको थियो । केही ढिलागरी सम्झौता भएकासमेत चैत मसान्तमा अधिकांश योजनाको भुक्तानी फरकफरकको काम सकिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए ।
‘नगर स्तरका झण्डै चार सय योजनामध्ये ९५ प्रतिशतको काम सकिएर फरफारक भएको छ’, गिरीले भने, ‘समपुरकका केही योजना बाँकी छन्, बहुबर्षे योजनाको कामबाहेक सबै काम सकेका छौँं ।’
संघ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भइरहेका तीन सडक र एक खानेपानी आयोजनाको काम चलिरहेको योजना अधिकृत प्रेम सापकोटाले बताए । त्यो बाहेक पाँच वटा झोलुङ्गे पुल बनाउने योजना सञ्चालनमा छन । गत वर्षका गरी २५ विद्यालय भवन निर्माणाधीन छन ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बनिरहेका विद्यालय भवनमध्ये चारवटा भवनको काम सकिएर फरफारक भएका छन । झोलुङ्गे पुल, विद्यालय भवन र समपुरकका सडक र खानेपानी बाहेक सबै योजना कार्यान्वयन सम्पन्न भएका छन ।
असारको मसान्त नजिकिँदै गर्दा भीडभाड हुने नगर कार्यपालिकाको कार्यालयमा यो वर्ष भीड हुने छैन । ‘आगामी वर्षको तयारीका लागि पर्याप्त समय उपलव्ध भएको छ, असारे विकास अन्त्य प्रयास थालेका हौँं, केही हदसम्म सफल भएका छौँ’, नगर उपप्रमुख हरिहर शर्माले भने, ‘मंसिर र चैत मसान्तको समयसिमाले काम द्रुत भए ।’
उपभोक्ता समितिबाहेक ठेक्कामा गर्नुपर्ने काममा भने समयसिमा आयोजना सम्झौताकै समयमा तोकिने हुनाले त्यसको प्रभाव नपरेको शर्माले बताए ।
जैमिनीका दशवटै वडास्तरका योजनाको काम सकिएको छ । कार्यक्रम सम्झौता नै हुन नसकेका केही योजनाको रकमान्तर गरेर काम भइरहेको गिरीले जानकारी दिए ।
‘वडामा पनि हामी लक्ष्यको नजिक छौँ, रकमान्तर भएकाबाहेक सबै काम सकिए’, गिरीले भने, ‘उपभोक्ता पनि उत्साहित भएर काममा लाग्नुभएकाले यो सफल भएको हो ।’
नगरपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान र नगरको सञ्चितकोष लगायत परिचालन गरेर योजनाको भुक्तानी समयमै दिएको हो ।
संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाट र समानीकरण अनुदान कमी आएमा ठूला योजनामा असर पर्ने प्रमुख प्रशासकीय अधिकृत गिरी बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij