Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, निष्पक्ष अनुसन्धान होस् : मन्त्री महत

भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, निष्पक्ष अनुसन्धान होस् : मन्त्री महत

  • 214
    SHARES
  • भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, निष्पक्ष अनुसन्धान होस् : मन्त्री महत

    काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ । साथै यस प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दोष व्यक्तिलाई जबर्जस्ती फसाउने काम कतैबाट हुन नहुने कांग्रेसको भनाइ छ ।

    कांग्रेस प्रवक्ता एवम् अर्थमन्त्री डा.प्रकाशशरण महतले आज यहाँ पत्रकार सम्मेलन गरी सो प्रकरणबारेमा पार्टीको धारणा स्पष्ट पार्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र यसमा पार्टीको सहयोग रहने स्पष्ट पारे ।

    मन्त्री महतले सामाजिक सञ्जाल एवम् कतिपय मिडियामा ‘मिडिया ट्रायल’ पनि भइरहेको आफूले पाएको भन्दै निर्दोष व्यक्तिलाई पनि दोषी देखाउने प्रयत्न भएको प्रति खेद प्रकट गरे ।

    कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको हालसम्म सो प्रकरणमा कुनै पनि दोष नदेखिएको र प्रमाण समेत नपाइएको अवस्थामा पनि सामाजिक सञ्जालमा ‘फेक अडियो’ बनाएर केही व्यक्तिले उनको बदनाम गर्न खोजिरहेको तथा यस्तै प्रकृतिका समाचारहरू कतिपय सञ्चारमाध्यममा आएको प्रवक्ता डा.महतको भनाइ थियो ।

    सांसद डा.राणाले आफ्नो बदनाम गर्न फेक अडियो बनाउनेलाई काराबाहीका लागि प्रहरीसमक्ष निवेदनसमेत दिइसकेको जानकारी गराउँदै प्रवक्ता डा. महतले भने, ‘उहाँले फेक अडियो बनाउनेलाई कारबाही गर्न उजुरी गर्नुभएको छ । तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषीझैँ व्यवहार भइरहेको देखिएको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भन्ने हाम्रो पूर्ण विश्वास छ ।’

    सोही प्रकरण अनुसन्धानका क्रममा प्रहरी हिरासतमा परेका कांग्रेस नेता बालकृष्ण खाणले आफू निर्दोष छु, सावित गर्छु, भनेकाले पार्टीले निलम्बन नगरेको पनि उनले स्पष्ट गरे ।

    यस प्रकरणमा पार्टी सभापति किन मौन भन्ने प्रश्नको जवाफमा मन्त्री महतले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले पनि सो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताउँदै आउनुभएको छ, तपाईंहरूलाई थाहै छ उहाँको कम बोल्ने बानी छ, कांग्रेसको स्पष्ट धारणा पनि यही हो कि यस प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij