वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताए ।
संगठनमा म मात्रै सर्वैसर्वा र अपरिहार्य व्यक्ति हुँ कहिले नभनेको स्मरण गर्दै बीपी कोइरालाको ४१औं स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा मन्त्री डा.महतले भने,‘संगठनमा कोही पनि अपरिहार्य हुँदैन । कसैले आफूलाई अपरिहार्य ठान्छ भने त्यो लोकतान्त्रिक प्रकृयाविरुद्ध हुन जान्छ ।’
त्यत्ति ठूलो व्यक्तित्व भएका बीपीबाट सिक्ने कुरा धेरै रहेको मन्त्री डा.महतको भनाइ थियो । बीपीले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर, अरु नेता र मूलतः जनताको पनि कुरा सुन्ने गरेकाे महतले स्मरण गरे ।
‘बीपी कोइरालाको ४१औं स्मृतिमा यही कुरा नै उहाँबाट प्रेरणा लिन, सिक्ने कुरा हो । कांग्रेसले अध्ययन गर्ने बानी विकास गर्न जरुरी छ । बीपीका धेरै साहित्यिक कृति छन्, त्यसको कांग्रेसले पुनप्रकाशन गरेर गाउँगाउँमा पुर्याउन जरुरी छ,’ डा.महतले भने,‘बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो ।’
लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा समतामूलक समाज निर्माण गर्ने र समृद्धिसहितको समानता हुनुपर्ने मन्त्री डा.महतको भनाइ थियो ।
‘लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा समृद्धिसहितको समानता लक्ष्य हो । त्यहाँ पुग्ने बाटो समयसापेक्ष्य हुन्छ भन्ने कुरामा उहाँ विश्वास राख्नुहुन्थ्यो । उहाँ नेपाल फर्किएपछि हामी दिनदिनजस्तो उहाँको कुरा सुन्ने अवसर पाउँथ्यौं । मलाई अहिले यस्तो लागेको छ, तिमीहरु के भन्छौं भन भनेर सोध्नुहुन्थ्यो । लक्ष्यमा सम्झौता हुँदैन, पुग्ने बाटो समयसापेक्ष्य हुनुपर्छ,’ मन्त्री डा.महतले भने,‘एक हल गोरु, एउटा गाई होस् भन्नुहुन्थ्यो, अहिले त्यो सम्झदा के कुरा गरेका होला भन्ने लाग्छ । उहाँले त्यो बेलाको सन्दर्भमा भनेको हो । परिवार पाल्नका लागि कम्तीमा त्यतिबेला हुनुपर्छ भनिएको हो ।’
वनको उदाहरण दिँदै मन्त्री डा.महतले भने,‘२०१५ सालमा नेपाली कांग्रेसको आर्थिक नीतिअन्तर्गत वन राष्ट्रियकरणको नीति थियो । बेच्नका लागि यो केही व्यक्तिको नियन्त्रणमा थियो । २०४८ सालमा हामीले सामुदायिक वनको अवधारणा ल्याइयो । २०१५ सालमै सामुदायिक वनमा लगिएको भए जनता तयार भइसकेका थिएनन् । शक्तिशाली व्यक्ति जसको अधिनमा वन छ, जनता शिक्षित थिएनन, ल तिमीहरुको भयो भन्दा सम्हाल्न सक्ने अवस्था नहुन सक्थ्यो । त्यो शक्तिशाली व्यक्तिबाट खोस्न सक्ने भनेको राज्य मात्र थियो । त्यसकारण पहिला राज्यको अधिनमा आयो । २०४६ सम्म आइपुग्दा जनता धेरै शिक्षित भइसकेकाले गर्दा सामुदायिक वनको अवधारणा आयो । किनभने सरकारले नियन्त्रणमा राख्यो भने त्यसको रेखदेख राम्रो हुँदैन । समुदायलाई नै फाइदा र संरक्षणमा सहभागी गराइयो भने उपयुक्त हुन्छ । बीपीले २०१५ सालमा लिएको नीति पनि ठिक थियो, २०४८ मा कांग्रेसले लिएको नीति पनि ठिक थियो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij