Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

उत्खनन हुँदै जाँदा तटबन्ध गरेर काम छैन : मन्त्री बस्नेत

उत्खनन हुँदै जाँदा तटबन्ध गरेर काम छैन : मन्त्री बस्नेत

  • 209
    SHARES
  • उत्खनन हुँदै जाँदा तटबन्ध गरेर काम छैन : मन्त्री बस्नेत

    कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदीमा उत्खनन सँगसँगै गरेको तटबन्धको कुनै औचित्य नहुने बताएका छन् ।

    राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरीया सिँचाइ आयोजनाको आज स्थलगत अनुगमनका क्रममा उहाँले कर्णाली नदी नियन्त्रणका लागि भएको तटबन्ध कमजोर हुनुको कारण नदीजन्य पदार्थको उत्खनन रहेको बताएका हुन् ।

    उनले भने, ‘अर्बौंको लगानीको संरक्षण नहुँदा पनि कर्णाली नदीको जोखिम कम गर्न सकिएको छैन, त्यसका लागि उत्खनन मापदण्डअनुसार मात्रै गर्न आवश्यक छ । नदी नियन्त्रणका लागि तटबन्ध गर्दै जाने उता उत्खनन पनि हुँदै जाने हो भने त्यहाँ तटबन्धको औचित्य छैन ।’

    आयोजनाले नदीमा गरेको तटबन्ध कर्णाली नदीले वर्षेनी बगाउँदै लगेको छ । विशेषगरी कैलालीको क्षेत्र तिर नदीजन्य वस्तुको व्यापक उत्खनन हुँदा टीकापुर नगरपालिका र जानकी गाउँपालिका वर्षेनी जोखिममा पर्दै गएका छन् ।

    मन्त्री बस्नेतले कर्णाली नदी नियन्त्रणमा तटबन्ध असफल भएको बताउँदै त्यसको विकल्पमा काम भइरहेको बताए ।

    राष्ट्रिय गौरवको आयोजनाले कैलाली क्षेत्रको दक्षिण पुर्वी क्षेत्रका किसानले भरपुर फाइदा लिन सक्ने जनाउँदै उनले आयोजनाको उपशाखा निर्माणका लागि राज्यले थप लगानी गर्ने बताए ।

    उनले भने, ‘आयोजनाको मुख्य काम भइरहेको छ, त्यो काम सकिएपछि त्यसको उपशाखाको काम पनि सुरु हुन्छ । त्यसका लागि सरकारले आन्तरिक रुपमा काम गरिरहेको छ ।’

    उनले आयोजनाको काम समयमै सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन समेत दिए । उनले कर्णाली नदीबाट राज्यले उल्लेख्य लाभ लिन सकिने जनाउँदै तल्लो कर्णाली हाइड्रोपावर सञ्चालनको गृहकार्यमा सरकार लागेको बताए ।

    उनले भने, ‘हामीले तल्लो कर्णाली हाइड्रोपावरको सम्भाव्यताको स्थलगत अनुगमन गर्दा त्यसबाट ठूलो लाभ लिन सकिने देखिएको छ । हामीले त्यसको सम्भाव्यतालाई हेरेर गएका छौँ, बाँकी काम सकेर तल्लो कर्णाली हाइड्रोपावर सञ्चालनको तयारीमा जुट्ने छौँ ।’

    उनले सरकारले गरेका राम्रा कामलाई जनताको माझमा लैजान पनि आवश्यक रहेको बताए । मन्त्री बस्नेतले अहिलेको व्यवस्थाले मुलुकलाई समृद्धिको दिशामा अघि बढाएको बताए ।

    उनले भने, ‘मुलुक बर्बादीको बाटोमा गयो भनेर अहिले भ्रम सृजना गर्ने काम हुँदै आएको छ, त्यसलाई चिर्न आवश्यक छ । मुलुक बर्बादीको बाटोमा नभइ समृद्धिको बाटोमा हिँडेको छ, बरु जुन रुपले समृद्धिको बाटोमा काम हुनुपर्ने हो, त्यो भने हुन सकेको छैन ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij