सशक्त महिला नेतृ, सांसद एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौला प्रतिनिधिसभा पुनर्स्थापना हुनुलाई लोकतन्त्रको जित मान्छिन् । नेपाल महिलासंघको अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसकेकी डा.संग्रौला महिला हिंसा, भ्रष्टाचाजस्ता विषयका विरूद्ध कडा रूपमा प्रस्तुत हुने गर्छिन् । डा.संग्रौलासँग समसामयिक राजनीतिका बारेमा वेबटिभी खबरका सुरञ्जन घिमिरे र रमेश दवाडीले गरेको कुराकानीको सम्पादित अंशः
संसद पुनर्स्थापना भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कुरा आइरहेका छन्, यो बदलिँदो परिदृष्यलाई तपाईंले कसरी हेर्नु भएको छ ?
हाम्राे सभापति प्रधानमन्त्री बन्ने विषयमा लामो छलफल होला । अहिले कांग्रेसको सपोर्ट बिना त केही बन्दै नबन्ने भयो । देश नै बन्धक हुने अवस्था आयो । संसद् बन्धक हुने अवस्था आयो । कांग्रेसले नै निकास दिने हो । कांग्रेस जिम्मेवार दल पनि हो । त्यसकारण सरकारमा जान्छ जाँदैन त्यो आगामी छलफलले नै टुङ्गो लगाउँछ । तर अब भूमिकाबिहीन भएर बस्दैन । अस्तिसम्म हामी सरकारमा जाने या नजाने विषयमा चुप लागेर बस्यौं, तर हामी चुप लागेर देशले निकास नै नपाउने भयो अब हामी चुप लागेर बस्दैनौं, देशलाई निकास दिन्छौं ।
तपाईं सशक्त महिला नेता हुनुहन्छ । तर भागरथीको बलात्कारपछि हत्या र कोमल वलीले जुन आक्षेप खेप्नुभयो, यीलगायत महिला हिंसाका विरूद्धमा त्यति आवाज बुलन्द देखिँदैन । सडकमा प्रतिपक्षको भूमिकामा पनि कांग्रेस कमजाेर भयाे, किन ?
कांग्रेसले प्रतिपक्षको भूमिका एकदमै देखायो । निर्मलाको केस होस् या भागरथीको या कोमल वलीको केस होस् यी लगायत महिला हिंसाका विषयमा हाम्रो पार्टी र मैले पनि व्यक्तिगत रूपमा सत्यतथ्य छानविन र दोषीलाई कडा कारबाहीको माग राखिरहेको छु । निर्मलाको हत्या हुँदा उनको हत्यारा कहाँ छ भनेर हामीले संसद् अवरुद्ध पार्ने पनि कांग्रेस नै थियो ।
केन्द्रिय समितिको बैठकले पनि सरकारलाई ध्यानाकर्षण गर्न र छानविनको लागि दबाब दिने निर्णय पनि गर्याे । म आफैंले संसदमा सार्वजनिक महत्वको प्रस्ताव पनि दर्ता गरें । निर्मलाको न्यायको लागि ३५ जिल्लामा अभियान पनि चलायौं । भागरथीको बलात्कारपछि हत्या नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले हत्यारा कहाँ छ ? हत्यारालाई तुरुन्त सार्वजनिक गर्नुपर्छ भनेर आवाज उठायौं ।
प्रतिनिधि पठाएर उनको परिवारलाई दुई लाख रूपैयाँ सहयोग पनि गर्याैं । मेरै नेतृत्वमा सुदुरपश्चिमका नौ जिल्लामा अभियान चलाएँ र मुख्यमन्त्रीलाई घेराउ गर्ने प्रर्दशन गर्याैं। एउटा अपराधी बाहिर आएको पनि छ, थप छनविन गर्न हामीले आवाज उठाइरहेका छौं । १२, १५ दिनसम्म सरकारले हत्यारा पत्ता लगाउन सकिरहेको थिएन, आज सरकारले त्यसमा सकेको प्रयास गरेको छ त्यो सबै नेपाली कांग्रेसकै कारणले भएको हो ।
नेपाली कांग्रेसभित्र महिलालाई नेतृत्वमा आउन कत्तिको कठिन छ ?
कांग्रेसमा म नेपाल महिला संघको राष्ट्रिय केन्द्रीय अध्यक्ष पनि भएँ । यसक्रममा मेरो पाँच वर्ष दूरदराज र गाउँबस्तीमै बित्यो । यो क्रममा ७७ वटै जिल्लालाई मैले नजिकबाट देखेको छु, अनुभूत गरेको छु । जव पार्टीको केन्द्रीय सदस्य भएँ देशभरको भ्रमण गर्दै महिलालाई नै केन्द्रबिन्दु बनाएँ । ०७४ को निर्वाचनबाट म प्रतिनिधिसभाको सदस्य पनि बनें ।
महिला बलात्कार, हिंसाका इस्युमा होस् अथवा कोभिड १९ ले अक्रान्त बनाएको अवस्था होस् चाहे राष्ट्रिय राजनीति र सार्वजनिक महत्वका प्रस्तावमा ध्यानाकर्षण गराउने कुरा होस् यी विषयमा बोल्ने, लेख्ने कुरामा मैले महिलालाई नै केन्द्रबिन्दुमा राखें । त्यसकारणले मेरो भनाइ के हो भने हामी पार्टीका सदस्य हौं तर पनि हामी महिला हौं ।
अझै पनि महिला पछाडि नै छन् । उनीहरूको सशक्तीकरण र सवलीकरण अझै हुन सकेको छैन । पार्टीको हरेक कमिटीमा एक तिहाइ महिला भनेर संविधानमा लेखिएको छ । तर कुनै पनि निकायमा महिलाको सहभागिता नै छैन । सरकार जहाँ छ, त्यहाँ पनि सात प्रदेशमा एउटामा पनि महिला मुख्यमन्त्री हुनुहन्न ।
अरु त अरु, महिला तथा बालबालिका मन्त्रालय पनि पुरुषले नै लिनुभएको छ । राष्ट्रिय राजनीतिमा पनि अवस्था त्यस्तै छ । पार्टीकै विधानकै कुरा गर्दा पनि एकतिहाइ महिला छैनन् । नेपाली कांग्रेसको कुरा गर्दा भर्खरै एकतिहाइ महिला उपस्थिति बनाइएको छ । एकतिहाइ पनि कस्तो छ भने प्रतिनिधित्व र सहभागिता । नेतृत्वमा छैनन् ।
भनेपछि हामी महिला भएर महिलाको इस्यु नबोक्ने हो भने समस्त महिलाहरूको राजनीतिमा आकर्षण कसरी बढ्छ ? नेतृत्वमा कसरी पुग्छन् ? हामीले त बोल्नुपर्याे नि । त्यसैले महिलाका इस्युमा बोल्न र लेख्न मचाहिँ क्लियर छु । अब अरू साथीहरू पनि आफ्नो भूमिका अनुसार सक्रिय नै हुनुहुन्छ होला ।

विद्यार्थी राजनीतिबाट आउने युवापुस्ताले पनि कांग्रेसमा सजिलै प्रवेश पाउन सकिरहेका छैनन् । युवाहरूले कांग्रेस बुढाहरूको मात्र पार्टी भयो भनेर असन्तुष्टि जनाइरहेका छन् । कांग्रेसले पार्टीमा युवाहरूलाई किन समेट्न सकेन ?
नेपाली कांग्रेसले चुनाव हार्नुको कारण पार्टीमा युवारूको आकर्षण बढाउन नसक्नु नै हो, यसलाई स्वीकार्नै पर्छ । केन्द्रीय महासमितिको बैठकले युवालाई नेतृत्वमात्र होइन, युवालाई रोजगारी मात्र होइन जिम्मेवारी दिनुपर्छ । अहिले नयाँ क्रियाशील सदस्यता वितरण हुँदैछ । जसमा एकतिहाइ महिला र पन्ध्र प्रतिशत युवा भनेका छौं । अबको महाधिवेशनमा जो निर्वाचन हुँदैछ । बीस प्रतिशत मात्रै मनोनित संख्या छ ।
अबको चौंधौं महाधिवेशन युवामय हुनेछ, महिलामय हुँदैछ । किनभने अब जिम्मेवारी पनि बढी छ । अब प्रतिनिधित्व पनि त्यही खालको छ भनेपछि त युवालाई पाखा लाएर कांग्रेस श्रद्धेय नेता विपिकै अवस्थामा त कसरी पुग्न सक्ला र ! विपि पनि जतिबेला यो देशको माननिय र प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ पनि युवै हुनुन्थ्यो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला उहाँहरू पनि युवा नै हुनुन्थ्यो । त्यसैले युवालाई नेतृत्व दिने पार्टी त कांग्रेस नै हो । अहिलेको कमीकमजोरीलाई हामीले महसुस गर्नैपर्छ, युवालाई जिम्मेवारी दिनैपर्छ ।
नेपाली कांग्रेसले चुनाव हार्नुको कारण पार्टीमा युवारूको आकर्षण बढाउन नसक्नु नै हो, यसलाई स्वीकार्नै पर्छ ।
पार्टीको कामको शिलशिलामा तपाईं हालै देशका विभिन्न जिल्लामा पुगेर आउनु भयो, त्यहाँका आम जनता र पार्टीका नेता, कार्यकर्ताको पार्टीप्रतिको धारणा कस्तो पाउनुभयो ?
म कार्णाली, रूकुम, रोल्पा, सल्यानमा चाहिँ के रहेछ भने माओवादीको १० वर्षे सशस्त्र जनयुद्धको बेला त्यहाँका मान्छेमा विकास चाँडै आइहाल्छ, भन्ने थियो । तर अहिले मैले के पाएँ भने यी भ्रष्टचारमा कम्युनिस्टले रेकर्ड कायम गरेकाले अब उनीहरुबाट केही हुँदैन भन्ने आम धारणा रहेको पाएँ । त्यहाँका जनतामा कांग्रेसप्रति यति धेरै आकर्षण बढेको पाएँ कि त्यहाँ पार्टीमा प्रवेश गर्न चाहनेको संख्या धेरै थियो । त्यहाँका जनताले कांग्रेसमा भविष्य देख्नुभयो । यो देख्दा मलाई उत्साह लाग्यो । लुम्बिनी प्रदेशका पनि धेरै जिल्ला गएँ । त्यहाँ पनि उस्तै उत्साह पाएँ । निर्वाचन छिटो होस् र कांग्रेस सरकारमा आओस भन्ने चाहना उहाँहरूको थियो ।
पछिल्लो समय नेताहरूले आफूलाई मन पर्नेको प्रशंसा गर्ने र मन नपरेकाको सार्वजनिक मञ्चमै गएर गाली गर्ने देखिएको छ, यस्तो चरित्रले आमजनतामा कस्तो प्रभाव पारेको देख्नुभयो ?

यो कम्युनिस्टहरूको चरित्र रहेछ । यत्ति गाली गलौज भयो यो पुस ५ गतेदेखि फागुनको ११, १२ गतेसम्म मान्छेलाई भुइँमा झर्नेगरी गालीगलौज देख्दाचाहिँ कम्युनिस्टहरू मिल्दाचाहिँ चाटाचाट नै गर्ने, अंकमाल नै गर्ने, यो मुलुकमा अब ५० वर्ष चाहिँ कांग्रेस सरकारमा आउँदैन, शेरबहादुर देउवाचाहिँ कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भन्ने ओली यही हुनुहुन्छ, प्रचण्ड पनि यही हुनुहुन्छ । प्रचण्डलाई त जंगलबाट ल्याएकै कांग्रेसले हो ।
त्यसकाराणले गर्दा मिल्दा चाहिँ भुइँचालो आएजस्तो जुरुक्कै पार्ने नमिल्दा चाहिँ सुन्नै नसक्ने किसिमको गाली गर्ने । अझ महिलाहरूलाई त हेपेर बोल्ने, गालीगलौज पनि गर्ने यस्तो किसिमको तल्लो स्तरमा झरेर गालीगलौज गर्ने कम्युनिस्टको चरित्र रहेछ । मिल्दा काँध हाल्ने जुरुक्कै उचाल्ने, नमिल्दा भुइँमै मिलाउने कम्युनिस्टको यस्तो चरित्र लोकतान्त्रिक राजनीतिक परिपाटीमा असुहाउँदो देखिँदैछ ।
ओलीले त प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नो चुडिएर खसेका, सडेका फल भन्नु भयो । यस्तो गालीलेचाहिँ मेरो चित्त दुख्यो । अस्ति मिल्दासम्म उहाँहरूको सम्बन्ध कस्तो उचाइमा थियो । उहाँहरू एकले अर्कालाई गाली गरेको सुन्दा ती जनतालाई यी नेताहरूले केही गर्छन् जस्तो मलाई लाग्दैन ।
कांग्रेसमा आन्तरिक लोकतन्त्र एकदम कमजोर छ भन्ने सुनिन्छ । यो चाहिँ लोकतान्त्रिक राजनीतिक परिपाटीमा सुहाउँदो चरित्र हो त ?
होइन । यो आफ्नो पक्षका कुरा राख्नेक्रममा भएको संवाद हो । यो हाम्रो पार्टीभित्र नेताहरूको आन्तरिक प्रतिष्पर्धाको कुरा हो ।
कांग्रेसको महाधिवेशन आउँदैछ । महाधिवेशनमा आफ्नो पक्ष बलियो देखाउन छलफल त भइहाल्छ नि ।
पहिला एमालेको महाधिवेशन आउन लाग्दा एमाले नेताहरू एकले अर्कालाई कसरी गाली हुन्थ्यो, त्यस्तो गालीगलौज त कांग्रेसभित्र छैन नि ।
देउवाभन्दा रामचन्द्र युवा र सक्षम छु भन्ने र र रामचन्द्रभन्दा देउवा बेटर छु भन्ने यस्तो प्रतिष्पर्धा कांग्रेसमा छ । यो भनेको स्वस्थ प्रतिपर्धा हो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो । यो सरकारमा को जाने भन्ने प्रतिष्पर्धा होइन, पार्टीको सभापति को बन्ने भन्ने स्वभाविक प्रतिष्पर्धा हो ।

अघि तपाईंले भनिसक्नु भयो- कांग्रेस युवाहरूको पार्टी, वीपी र कृष्णप्रसाद भट्टराईहरूको पार्टी भनेर । यस्तो विरासत बोकेको पार्टी भए पनि कांग्रेस भ्रष्टाचारका मामिलामा चोखो, दुधले नुहाएको पार्टी त अब रहेन नि ?
कसले भन्यो कांग्रेस भष्टाचारमा मुसियो भनेर ? हामी जहिल्यै पनि भ्रष्टाचारका विरुद्धमा आवाज उठाइरहेका छौं । हामीले वाइडबडी, न्यारोबडी र कोभिड १९ को स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, यतिसँग सती आदि विषयमा खोजविनका लागि आवाज उठाइरहेका छौं, त हामी कसरी भ्रष्टाचारी भयौं ? संसदीय लेखा समितिले छानविन गरोस् भनिरहेका छौं । यो सबै विषयमा हामीले आवाज उठाइरहेका छौं ।
सबै संवैधानिक निकायलाई केपी ओलीको कठपुतली बनाएर ७० करोड प्रकरणको अडियो पनि सरकारले कता हरायो ? मन्त्रीलाई राजीनामा दिन लगाएर त्यो मुद्दालाई यत्तिकै ओझेलमा पार्याे, यी सबै विषयमा हामीले आवाज उठाइरहेका छौं ।
महाधिवेशन फागुनमा गर्ने भन्नुभएको थियो, भएन । भदौमा सार्नुभयो । महाधिवेशनको तयारी के हुँदैछ ?
क्यालेन्डर बनिसकेको छ । क्रियाशील सदस्यताको सूचि धमाधम काठमाडौं आउने क्रम जारी छ । कतिपय जिल्लाको समायोजन निर्वाचन आयोगले गरिसकेको छ । यो क्रियाशिलको प्रतिनिधि संयोजक रमेश लेखकले जहाँ जहाँ विवाद छ त्यहाँ प्रतिनिधि पनि पठाइसक्नु भएको छ । सबैजना महाधिवेशनमा जुटेका छौं । असारदेखि नै गाउँ अधिवेशन सुरु हुन्छ । भदौको सातदेखि १० भित्र राष्ट्रिय महाधिवेशन हुन्छ । त्यसले नेतृत्व मात्र परिवर्तन गर्दैन, राष्ट्र र जनताका लागि लिने नीतिसहित कांग्रेस अगाडि आउँछ, देशमा कांग्रेसको विकल्प छैन ।
तपाईं आफू पनि पदाधिकारीमा लड्ने भन्नुभएको थियो । व्यक्तिगत रूपमा कस्तो तयारी गरिरहनु भएको छ ?
जनताका बीचमा गइरहेको छु । मैले भन्नुभन्दा पनि साथीभाइहरूले तपाईंजत्तिको नेता पदाधिकारिमा आउनुपरो भनिरहनु भएको छ । सरसल्लाह गर्दै छु, समयले साथ दिए ठाउँमा पुग्छु कि भन्ने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij